दिनेश घिमिरे 

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका  निर्मला पन्तको बलात्कार र हत्यामा भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रदीप रावलकै संलग्नता रहेको प्रारभिक निश्कर्ष प्रहरीले निकालेको छ ।

प्रदीपले निर्मलाको घाँटी दबाएर हत्या गरेको बयान दिएसँगै प्रहरी निर्मला हत्या घटनाको  टुंगोमा पुग्न सकिने विश्वासमा छ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा लिइएको बयानमा प्रदीपले, ‘‘हत्या मैले नै गरेको हुँ । पक्राउ पर्ने डरले भाग्दै आएको थिएँ ।’’ भन्दै बयान दिएसँगै निर्मला प्रकरणको वास्तविकता खुल्ने विश्वास लिइएको छ ।

यद्यपी घटना स्वीकार गरेका रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरेर प्रयोगशालामा पठाइपनि रिपोर्ट भने आएको छैन । प्रहरी रावलको डिएनए रिपोर्टको पर्खाइमा छ । डिएनए रिर्पोट नआएसम्म प्रहरीले आधिकारीक धारणा सार्वजनिक नगर्ने मोडमा छ ।

निर्मला हत्याको आरोपमा मंगलबार साँझ काठमाडौंबाट सीआईबीको टोलीले पक्राउ गरेको रावल १८ वर्षीका छन् । प्रहरीस्रोतका अनुशार  रावल लागु औषध दुव्र्यसनी हुन् । प्रदीपका आमाबुबा दुवै भारतको बैंङ्ग्लोरमा रोजगारी गर्दै आएका छन् । स्रोतका अनुसार साउन १० गतेसम्म महेन्द्रनगरमै रहेका प्रदीप साउन ११ गते गड्डाचौकी नाका हुँदै भारतको खटीमा गएका थिए । खटीमामा प्रदीपको मामाघर रहेको  बताइएको छ ।

उच्च प्रहरी अधिकारी स्रोतका अनुशार निर्मला हत्यामा प्रदीपको संलग्नताको कैयौं आधार र प्रमाण भेटिएका छन् । स्रोतका अनुसार प्रदीपकै बयानका आधारमा कञ्चनपुरबट थप २ जना पक्राउ परेका छन्  । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई बिहीबार धनगढी विमानस्थलबाट काठमाडौं ल्याइएको छ । उनीहरुसँग पनि आईजीपी खनाल आफैंले सीआईबीमा पुगेर बयान लिनुभएको बताइन्छ ।

प्रहरी स्रोतका अनुसार प्रहरी यो घटनाको निचोडमा पुग्ने तयारीमा छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुशार  ‘‘अनुुसन्धान न्यारोडाउन भएपनि अहिले नै सबै कुरा भन्न मिल्दैन ।’’

गत साउन १० गते आफ्नो घरबाट साथीको घरमा जान हिँडेकी भीमदत्तनगर–२ की १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टि भएको थियो ।


तपाईको प्रतिक्रिया