महादेवस्थान । मण्डन देउपुर नगरपालिकाले १५ औं स्वयमसेविका दिवसको अवसरमा स्वास्थ्य स्वयमसेविकाको सम्मान गरेको छ । बुधवार मण्डन देउपुरमा आयोजित विशेष कार्यक्रममा नगरका प्रमुख टोकबहादुर वाईवाले स्वास्थ्य स्वयमसेविकाको सम्मान गरेको हो ।

मण्डन देउपुरका स्वास्थ्यचौकी मातहतका स्वयमसेविकाहरुलाई नगरले सम्मान गरेको हो । नगरमा रहेका स्वास्थ्य चौकी मातहतका स्वयसेविकाहरुलाई सम्मान गरिएको हो । निस्वार्थ रुपमा काम गरेका उनीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले सम्मान गरेको मण्डन देउपुर नपाका स्वास्थ्य ईकाई प्रमुख दीपक घिमिरेले बताए । ‘उहाँहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका छौ’ प्रमुख घिमिरेले बताए ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख टोकबहादुर वाईवाले निस्वार्थ भावनाले अघि बढिरहनु भएका स्वास्थ्य स्वयमसेविकाहरुको उच्च मनोवल कायम गराउनको लागि नगरले सकेको सहयोग गर्ने बताए । उनले यस अघि स्वास्थ्य स्वयमसेविकाहरुलाई पोशाक भत्ताको एकमुष्ट ७ हजार ५ सय रकम सहयोग गरेको बताए । अब नगरले गाँउ गाँउमै पुगेर स्वास्थ्य परिक्षण गराउन सहयोग पुग्ने खालका उपकरण नगरले व्यवस्था गर्ने बताए ।

उनले मानव स्वास्थ्यसँग जोडिएको बिषय भएकाले २४ सैं घन्टा कसरी स्वास्थ्य सेवा दिन सकिन्छ भनेर योजना बनाईरहेको बताउँदै त्यसको सुरुवात समेत गरिने सुनाए ।
नगर प्रमुख वाईवाले आफ्ना नगरका जनताको स्वास्थ्य सेवामा आफु र आफ्नो टिम सदैव गम्भिर रहेको बताए । स्वास्थ्य स्वयमसेविकाहरु भनेको सामुदायिक स्वास्थ्यको पिल्लर रहेकाले उहाँहरुको विकासमा आफूहरु सदैव प्रयत्नशिल रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारीले नगरको जनताको स्वास्थ्य सेवामा आफूहरु निरन्तर अघि बढ्ने बताए । उनले स्वास्थ्य स्वयमसेविकाहरुको योगदान स्वास्थ्य सेवामा उच्च रहेको समेत दावी गरे । कार्यक्रममा मण्डन देउपुर वडा नं ८ का वडाअध्यक्ष तथा झलकप्रसाद पौडेलले नगरले स्वास्थ्यको बिषयमा संवेदनशिल भएर काम गरिरहेको बताए ।

त्यस्तै बडा नं १० का वडाअध्यक्ष एंव सरसफाई तथा वातावरण संयोजक विष्णुमणी नेपालले हरेक १५ दिनमा आफूले बडाको टोलटोलमा पुगेर ब्लड प्रेसर जाँच्ने अभियान सुरु गरेको बताए । घरमा युवा छैनन् अब हामीले टोलटोलमा पुगेर नागरिकको प्रारम्भिक स्वास्थ्य परिक्षण सुरु गरेका छौ ।

गैरिबिसौना स्वास्थ्यचौकीका प्रमुख सत्यनारायण ठाकुरलले स्वागत मन्तव्य राखेको कार्यक्रममा जनस्वास्थ्य अधिकृत नन्दराज अवस्थी लगायतकाले मन्तव्य राखेका थिए ।


तपाईको प्रतिक्रिया