काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर जाडो बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा आज बिहान यो वर्षकै कम तापक्रम मापन भएको छ ।

मौसमविद विभूति पोखरेलका अनुसार काठमाडौँ उपत्यकामा आज बिहानको न्युनतम तापक्रम ५.६ डिग्री मापन भएको र यो यस वर्षकै कम हो ।

यस्तै दिउँसो अधिकतम तापक्रम पनि घट्दै गएकाले जाडो बढेको छ । दिउँसोको अधिकतम तापक्रम काठमाडौँमा १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद पोखरेलले जानकारी दिइन् ।

हिजोको तुलनामा न्युनतम तापक्रम ०.४ डिग्री घटेको हो र अझै तापक्रम घट्ने क्रम जारी रहने भएकाले जाडो थप बढ्ने मौसमविदको भनाई छ । बिहीबार काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रको मौसम आंशिकदेखि पूर्ण बदली हुने र मध्य तथा पश्चिमका केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना पनि छ ।

यसैगरी उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविदले बताए । तराई क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ ।


तपाईको प्रतिक्रिया