धुलिखेल । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकका जुनसुकै मानव बस्तीमा कार्बनको जालो हुनुहुन्न, यसलाई तत्काल हटाउनुपर्ने बताउनुभएको छ ।

नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै नगरपालिकाको भकुण्डेस्थित इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनले मानवीय स्वास्थ्यमा गम्भीर असर पुयाइरहेकाले यसलाई तत्काल हटाउनुपर्ने मन्त्री बाँस्कोटाले बताउनुभयो । मानवबस्तीबाट टाढा इँटा उद्योग राख्न आग्रह गर्दै सरकारले सहुलियतमा वैकल्पिक व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्माण सामग्री त चाहिन्छ, तर मानव स्वास्थ्यमा प्रतिकूल असर पारेर हैन, त्यसैले यसका उद्योगीले पनि वैकल्पिक व्यवस्थापनतर्फ लाग्नपर्ने बताउनुभयो ।

कार्यक्रममा हाम्रो प्रकृति र समाज सके राम्रो बनाउनुस् नसके नबिगार्नुस् । सबै क्षेत्रका बेथिती नियमन गर्न लागेको बताउँदै मुलुकमा भइरहेका घटनामध्ये ९२ प्रतिशत चिनेजानेका र आफन्ताबाटै भएको बताउनुभयो । मन्त्री बाँस्कोटाले यो बुलेटबाट होइन, ब्यालेटबाट आएको सरकार हो, त्यसैले चुनावमा बोलेका वाचा सबै पूरा गर्छौं भन्दै निकट भविष्यमै सरकारले ४८ वटा ठूला परियोजनाको उद्घाटन र शिलान्यास गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद गङ्गाबहादुर दोङ, नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, प्रदेशसभा सदस्य चन्द्र लामा, गोमा भूर्तेल र रत्न ढकाललगायतले विधिको शासनले मात्रै समृद्धि हुने भएकाले जनताको चाहनाअनुरुप काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कूल रु चार करोड ६६ लाख ६३ हजारमा सो भवन निर्माण भएको नगरप्रमुख टङ्कप्रसाद शर्माले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया