अछाम । जिल्लाको बारला स्वास्थ्यचौकीको भवन ७ वर्षदेखि अलपत्र बनेको छ। समयमा नै निर्माण कार्य पूरा हुन नसक्दा यस क्षेत्रका सेवाग्राही मर्कामा परेका छन्।

विस २०६८ कात्तिकबाट निर्माण सुरु गरिएको स्वास्थ्यचौकीको भवन अहिलेसम्म निर्माण कार्य पूरा हुन नसक्दा सेवाग्राही प्रवाहमा समस्या भएको वडाअध्यक्ष तारा खनालले बताए। उनका अनुसार एककरोड ३२ लाखको लागतमा १५ महिनाभित्र निर्माण काम सम्पन्न गर्ने गरी जयगौरी आशिष निर्माण सेवाले सम्झौता लिएको थियो। सम्झौता गरेको सात वर्ष बितिसक्दा पनि भवन निर्माण नहुँदा अहिले बनेको संरचना पनि भत्किने अवस्थामा पुगे उनले बताए।

पटक पटक म्याद थप गरेर कागजी प्रक्रिया पूरा गरे पनि निर्माणको काम भने ६ वर्षदेखि ठप्प छ। समयमै काम सम्पन्न नगरेको भन्दै स्थानीय आक्रोश व्यक्त गरेका छन्। स्थानीय मालिका माविका शिक्षक बमबहादुर शाही भने, ‘कि त यो काम पूरा गर्नु पर्‍यो। नभए ठेकेदारलाई कारवाही हुनुपर्‍यो। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खेलबाड गर्न कसैले पाउँदैन।’

ठेक्का जिम्मा लिएको जयगौरी आशिष निर्माण सेवाका प्रमुख तपेन्द्र शाहीले निर्माणको काम पुसभित्र सम्पन्न गर्ने बताएका छन्। उनले भने, ‘म आफैँ धेरै ठाउँमा काम गर्ने भएकाले त्यहाँकै एकजना रामबहादुर शाहीका लागि त्यो सम्झौता गरेको हुँ। उनले धोका दिए। अब म आफैँ आउँदैछु। पुसभित्र निर्माण सक्छु।’ उनले आफूले सबै संरचना निर्माण गरिसकेको बताउँदै बाहिरी रंगरोगन र सजावट गर्न बाँकी रहेका दाबी गरे।

काठको कामको लागि स्थानीय डण्डी सञ्जालसँग सम्झौता गरेर काम भइरहेको उनको भनाई छ।


तपाईको प्रतिक्रिया