झापा । आइतबार राति आगलागी हुँदा झापा शिवगञ्जमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

आगलागीमा परी झापा शिवगञ्ज नगरपालिका–७ का ३४ वर्षीय लक्ष्मण खनाल, श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र पाँच महिनाका छोरा टिकाराम खनालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति अन्दाजी साढे १० बजे घरमा आगो लागेको थियो। आगो लागेपछि उनीहरू कोही पनि घरबाट निस्किन पाएनन्।

आगो लागेपछि भान्सामा रहेको सिलिण्डर पड्केर छिमेकी गीता ढुंगेल पनि घाइते भएकी छिन्।

‘काठको घर थियो, आँगनमा ट्याक्टर, थ्रेसर रहेछ, ४० लिटर डिजेल पनि राखिएको रहेछ,’ झापा प्रहरी प्रमुख भीम ढकालले भने, ‘बिजुली सर्ट भएर आगलागी भएको अनुमान छ। घटनाबारे अनुसन्धान भइरहेको छ।’


तपाईको प्रतिक्रिया