बनेपा । बजारमा पाँच रुपैयामा चकलेट समेत पाइदैन । अझ पिठो, चिनी, मरमसला हालेर तेलमा मगमग बाँस्ना आउने गरि पकाएको सेल पाँच रुपैयामा कल्पना समेत गर्न सकिदैन । तर काभ्रेकै ठूलो व्यापारिक नगर बनेपामा भने पाँच रुपैयामा दुईओटा सेल मज्जाले खान पाईन्छ । पाँच रुपैयामा दुईओटा सेल पाउने भएपछि एउटा सेल पाँच मोहोरमै पाइने भयो ।

पाँच रुपैयाको भ्यालू समेत छैन बजारमा । पैसा,सुका मोहोर,एक रुपैया र दुइ रुपैयाको नोट बजारमा पाउने कुरानै भएन । तर काभ्रेको मुख्य बजार बनेपामा भने पाँच मोहोरमै सेलरोटी खान पाईन्छ । सुन्दा अचम्म लागेपनि दैनिकपाँच मोहोरको सेल बेचेर हजारौं रुपैयाको व्यापार गर्ने गर्दछन्, दिनेश शाह । उनको यो दैनिकी ३० बर्षदेखि निरन्तर चलिरहेको छ ।

पुर्खाैली घर भारतको दरबंगा भएका दिनेशले बनेपामा व्यापार सुरु गरेको ३० बर्ष पुरा भैसक्यो । २०४५ सालमा बनेपामा व्यापार सुरु गरेका उनले चारओटा सेल र एउटा तरकारी ३ रुपैयामा खुँवाउथे । अहिले उनले चारओटा सेल र एउटा तरकारी ३० रुपैयामा खुवाउँछन् । त्यही मूल्यमा चारओटा पुरी र एउटा तरकारी समेत उनले खुवाउने गरेका छन् । सामान्यतया होटलहरुमा पाँच रुपैयाको मेन्यूनै हुँदैन तर उनको पसलमा बजारमा पाउनेभन्दा धेरै सस्तोमा सामान पाईन्छ । मोहोरवाटै सुरु हुन्छ उनको मेन्यू । उनका पसलका अधिकाशं ग्राहक सेल तरकारी र पुरी तरकारी खाने आउने गर्दछन् । उनको पसलका ग्राहकहरु सबै वर्ग र उमेरका छन् ।

३० रुपैयामा ४ ओटा सेल र एउटा तरकारी मज्जाले खान पाइन्छ । चारओटानै पुरी र एउटा तरकारीपनि ३० रुपैयाको मेन्यू छ । बनेपा भैसीपाटीवाट सेल तरकारी खान आएका प्रदिप द्यौगोडाले काभे्र जिल्लामै सस्तो मूल्यमा मिठो सेल तरकारी खान पाउने भएकाले दिनेश शाहको पसलको आफू नियमित ग्राहक भएको बताए । उनीमात्रै हैनन् पाँच मोहोरमा सेल पाउने सुनेर सेल खान आएका गोदामचोकका कुमार तामाङ पनि केही समयदेखि आफू दिनेशको पसलको नियमित ग्राहक बनेको बताए ।

यस्तो मंहङ्गीमा समेत आफूले सस्तोमा सेल तरकारी बेच्नुको कारण धेरै बेच्ने कम नाफा खाने आफ्नो बानी भएकाले संम्भव रहेको दिनेश शाहले बताए । ‘मैले पाँच रुपैयामा दुई ओटा सेल बेचेरै परिवारको राम्रोसँग गुजारा गरेको छु ’ दिनेशले भने । सुरुमा उनले परिवार नियोजनसँगैको घरवाट व्यवसाय सुरु गरेका थिए । अहिले ग्राहकको मागको आधारमा चाँदनीचोकको हंशराज सपिङ सेन्टर नजिकैवाट सेल पुरी बेचिरहेका छन् । परिवार नियोजनसँगै पसल उनको श्रीमतीले संचालन गरिरहेकी छिन् । पाँच मोहोरमा सेल पाईने भएपछि उनको पसलमा सबै वर्गका उपभोक्ता आउने गरेका छन् ।

सेल र पुरीमा मात्रै हैन उनको पसलमा बजारमा भन्दा मिठाइ समेत सस्तो बेच्ने गरेका छन् । बजारमा पाईनेभन्दा सस्तोमा बेच्नुको कारण आफूले सस्तो भाडा तिर्ने र हाइवेमा महंगो भाडा तिरेर होटल राखेकाले मंहङ्गो भएको हुनसक्ने उनको अनुभव छ । उनले पाँच मोहोरमा खुवाउने सेल भने बनेपामै लोकप्रिय छ । बजारमा पाउनेभन्दा मिठाईमा २ सय रुपैयासम्म सस्तोमा उनले बेच्ने गरेका छन् । हरेक सामान उनले सस्तोमा बेच्छन् । तर सस्तोमा बेचेपनि उनको सामान गुणस्तरिय छ ।

आजको खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया