पोखरा, ८ मंसिर । अन्तर माविस्तरीय ६ ए साइड फुटबल प्रतियोगिता छैटौं केब्स कप २०७५को उपाधि आयोजक कञ्जंघा बोर्डिङ स्कुलले जितेको छ। पोखरा ११ फुलवारीस्थित कञ्चनजंगा बोर्डिङ स्कुलद्धारा आफ्नै खेल मैदानमा आयोजित प्रतियोगिताका शनिवार सम्पन्न फाइनल खेलमा अक्सफोर्ड बोर्डिङ स्कुललाई पेनाल्टीमा पराजित गर्दै कञ्चनजंघाले उपाधि जितेको हो।

निर्धारित समयमा २÷२ गोल पश्चात पेनाल्टी सुट आउटबाट विजेता बनेको कञ्चनजंगा बोर्डिङ स्कुल बिजयी भएको हो। यस अघि शनिवार सम्पन्न खेलमा कञ्चनजंघाले पोखरा युनाइटेडलाई २—१ र सेमिफाइनलमा हिलप्वाइण्टलाई पाखा लगाएको नवदिप बार्डिङ स्कुललाई ३—१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। यसरी नै क्वाटरफाइनलमा सगरमाथालाई ४—१ र प्रतिभालाई जित्दै सेमिफाइनलमा पुगेको ग्लोबल कलिजियटलाई २—१ गोलले पराजित गर्दै अक्सफोर्ड फाइनलमा प्रवेश गरेको थियो।

विजेता कञ्चनजंगा २० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेतामा चित्त बुझाउनु परेको अक्सफोर्ड बोर्डिक स्कुल १२ हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत बन्यो।

३१ टिमको सहभागीता रहेको प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडी कञ्चनजंघाको सागर गुरुङ, उत्कृष्ठ गोलरक्षक कञ्चनजंघाकै प्रमिस गुरुङ, ७ गोल गर्दै सर्वाधिक गोलकर्ता अक्सफोर्डका प्रकाश लामा, अनुशासित टीम ग्लोबल कलिजियट, सर्वोत्कृष्ट प्रशिक्षक कञ्चनजंघाका प्रशिक्षक शिब भट्टराई, उत्कृष्ट प्रशिक्षक अक्सफोर्डका लक्ष्मण बाँस्तोला घोषित हुदै पुरस्कृत गरिएको थियो।

खेल खेलौं, निरोगी बनौ मुल नाराका साथ आयोजित छैटौं कञ्चनजंगा बोर्डिङ स्कुल कप २०७५ को समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष माधवप्रसाद बाँस्तोलाले मन्तव्य व्यक्त गर्नुहुदै खेलकुदको विकासमा प्रोत्साहनका लागि वडा कार्यालयबाट वर्षेनी दश दश हजार नगद र ३ वटा फुटबल सहयोग गर्ने घोषणा गर्नुभयो।खेलकुद क्षेत्र अत्यन्तै महत्वपुर्ण भएकाले खेलकुद शिक्षा नै पढाउने सोंचको विकास हुनुपर्ने बताउनु हुदै खेलबाट आफु मात्रै होइन राष्ट्र चिनाउने, गरिमा बढाउने क्षेत्र भएको बताउनुभयो।पोखरा ११ फुलबारीमा खेल मैदानको अभावले मणिपालसँग खेल मैदान माग्नुपर्ने बाध्यता भएको वडाअध्यक्ष बाँस्तोलाले बताउनुभयो।

कञ्चनजंघा विद्यालय संचालक समितिकी अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको समापन समारोहमा डाइरेक्टर श्रीजंग गुरुङले स्वागत गर्नुभएको थियो।

प्रतियोगिताबाट वचत रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने पुनित उद्धेश्य रहेको छ। विगतका प्रतियोगिताबाट छात्रवृत्ति प्राप्त २ जनाले एस इ इ उतिर्ण गरेको र ३ जनाले छात्रवृत्ति प्राप्त गरिरहेकाछन्।


तपाईको प्रतिक्रिया