बनेपा । काभ्रेको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–२, मुलडाँडाका पाँच वर्र्षीय विजय घिसिङको हत्यारा पत्ता लगाई कारवाही गर्न पीडित अभिभावकले प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।

गत कात्तिक २६ गते दिउँसो घरबाट हराएका घिसिङ खोजतलासको क्रममा तीन दिनपछि सोही वडाको सातविसे खोलाको ढुङ्गामाथि मृतावस्थामा फेला पारेको थियो । जङ्गलबीचमा शव भेटेपछि शङ्का लागेर प्रहरीले नै उठाएर परीक्षणका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा गत कात्तिक २९ गते लगेको र शुक्रबार रिपोर्ट आएको मृतकका ठूलोबुबा बलिमान घिसिङले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले घटनाको सम्बन्धमा अनुसन्धान गरी दोषी पत्ता लगाएर कारवाही गर्न जिल्ला प्रहरी कार्यालयमा कुरा भइरहेको बताउनुभयो । धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो घटनाका विषयमा छानबिन अगाडि बढाइने जानकारी दिनुभयो । घटना भएको ११ दिनपछि मात्रै रिपोर्ट आएको र रिपोर्टमा मुख थुनेर हत्या भएको उल्लेख भएपछि पीडित अभिभावकले दोषी पत्ता लगाएर कारवाही नगेरसम्म शव नबुझ्ने जनाएको छ ।

-RSS


तपाईको प्रतिक्रिया