श्रीखण्डपुर । बनेपा नगरपालिकाले फोहोर फाल्दै आएको आईटी पार्क अगाडीको डम्पिङ साईडमा शुक्रवार वेलुका देखि आगो लगाईदिएपछि उक्त फोहोरको धुँवाले ढाक्नुका साथै दुर्गन्ध फैलिएपछि स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।

शनिबार बिहानै बनेपा नगरपालिकाले आगो निभाउन बेवास्ता गरेकोे भन्दै स्थानीयहरु आक्रोशित भएको हो । आक्रोशित स्थानीयहरुले बनेपा नगरपालिकाको फोहोर ल्याएको दुई ट्रकलाई फोहोर फाल्न नदिएर बनेपा तर्फनै फर्काइएको थियो । पटक–पटक बनेपा नगरपालिका र मेयर लाई फोन गरेर जानकारी दिएपनि आगो निभाउन बेवस्ता गरेको र पछि मेयरले मोवाइलनै अफ गरेर बसेपछि स्थानियहरुले बनेपा नगरपालिका बिरुद्ध आक्रोशित भएका थिए ।

हामीले बनेपा नगरपालिकाको दमकल बोलाएपनि मेयरले वास्ता गरेन पछि धुलिखेल नगरपालिकाको दमकल आएपछि फोहोरको आगो निभाउने काम सुरु भएको स्थानिय जयराम कर्मार्चायले बताए । बनेपा नगरपालिकाले फोहोरको नाममा सिनो देखि हरेकखालको फोहोर यहाँ ल्याएर फाल्ने गरेको तर फोहोरको ब्यवस्थापनन गर्न नलागेको कारण अहिले यस्तो अवस्था भोग्नुपरेको कर्मार्चायले बताए । हामीले पटक पटक फोहोरमा आगो नबल्नको लागि पहल गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको अब फोहोर नै राख्न दिने य नदिने बिषयमा कुरा भइरहेको धुलिखेल नगरपालिका वडा नं ५ वडा अध्यक्ष गंगासागर रन्जितले बताए ।

अहिले आएर फोहोर बालेर आम मानिसहरुको स्वास्थ्यमाथिनै खेलवाड गरिरहेकोले यो बिषयमा चुपलागेर नबस्ने वडा अध्यक्ष रन्जितले बताए । बनेपा, धुलिखेल र पनौती नगरपालिकाको सिमानामा पर्ने सूचना प्रविधि पार्क (आईटी पार्क) अगाडी श्रीखण्डपुर नजिकै बनेपा नगरपालिकाले फोहोर फाल्दै आएको थियो । डम्पिङ साईड बस्ती बीचमा परेको कारण वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै स्थानीयले विरोध गर्दै आएपछि नगरपालिकाले भने अरु विकल्प नभएको भन्दै स्थिानीयबासिन्दाको विरोधका बाजदुत अहिले पनि सो ठाउँमा फोहोर फाल्दै आईरहेको छ ।

त्यसरी फोहोर फाल्दै आएको ठाउँमा प्लाष्टिक, कागज र अन्य बल्ने खालको फोहोर समेत भएको सो ठाउँमा शुक्रवार बेलुका अज्ञात ब्यक्तिले आगो लगाएपछि सो क्षेत्र लगायत आसपासका बजारमा समेत धुँवाले असर पारेको थियो । फोहोरको डंगुरमा आगो लगाएर धुवाँले ढाक्नुका साथै दुर्गन्ध फैलिन थालेपछि बनेपा नगरपालिकामा भएको मिनि दमकल विग्रेको भन्दै धुलिखेल नगरपालिकाको मिनि दमकल प्रयोग गरी आगो निभाएको थियो । धुलिखेलबाट ल्याएको दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि भक्तपुरबाट दमकल ल्याएर आगो निभाउने काम भएपनि पुर्णरुपमा फोहोरमा बलेको आगो नियन्त्रणमा आएको छैन ।


तपाईको प्रतिक्रिया