भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले जनमत अनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको कार्यक्रममा नेता गुरुङले जनताको जनमतअनुसार राज्यका सबै अङ्ग रुपान्तरण हुनुपर्ने बताउनुभयो । “सङ्घीयता कार्यान्वयन गर्ने विषयमा केही अन्यौल देखिएकाले काममा केही ढिलासुस्ती भएको हो,” उहाँले भन्नुभयो, “सङ्क्रमणकाल जारी रहेकाले व्यवस्थामा रुपान्तरण गर्दै जानुको विकल्प छैन ।”

उहाँले संविधानतः देशमा बहुदलीय प्रणाली रहेको भने तापनि देश दुई दलीय प्रणालीतर्फ जान लागेको बताउनुभयो । दुई दलीय व्यवस्थामा जान लागेको अवस्थामा कम्युनिष्ट एक भएर जानुको विकल्प नरहेको उहाँको भनाइ थियो । हाल सदनमा प्रतिपक्षको भूमिका नकारात्मकभन्दा पनि सकारात्मक रहेकाले काङ्ग्रेसले विभिन्न विधेयक पारित गर्दा देखाएको समर्थनले सो कुरा प्रष्ट्याएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको नेता गुरुङले बताउनुभयो ।


तपाईको प्रतिक्रिया