काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्रको संगतले नेताहरु  बिग्रन थालेको बताउनुभएको छ । आन्दोलन गरेर मुलुक परिवर्तन गर्ने नेताहरुलाई राजाको पालामा तालिमप्राप्त कर्मचारीले बिगारेको आरोप लगाउनुभएको हो ।

बुधबार म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माथिल्लो तहमा रहेका कर्मचारीहरुले नेताहरुलाई नै बिगारिसकेको दावी गर्नुभयो ।  ‘जतिसिुकै परिर्वतन ल्याए पनि काभ्रो सिष्टम उस्तै छ राजाकापालामा तालिमप्राप्त, अझ ठूल्ठूला त तिनैमात्र छन्’ ‘राजनीतिक नेतृत्वले संघर्ष गर्छन्, आन्दोलन गर्छन् राष्ट्र र जनताको हितमा भनेर बलिदान गर्छन्, परिवर्तन ल्याउँछन् । दुई चार वर्ष ठूल्ठूला हाकिमसँग बस्दाबस्दै नेता पनि हाकिमजस्तै हुन्छन् ।’

अब  नेताले हाकिमहरुलाई पनि परिवर्तन गर्नुपर्नेमा आफै बिग्रिएको प्रचण्डको दावी थियो  । ‘हाकिमलाई बदलेर परिवर्तनको बाहक बनाउनुपर्ने ठाउँमा अनि यो त हुन्न हजुर त्यो फाइल मिल्दैन भन्दाभन्दै नेता पनि उस्तै, जब नेता पनि उस्तै हुन्छन्, त्यो परिवर्तन टिक्दैन ।’

नेपालमा नागरिकले राम्रो सेवा सुविधा पाउन् भनेर संघ, प्रदेश र स्थानीय तहको अवधारणा ल्याइए पनि आफूहरुको चाहना अनुसार काम नभएको प्रचण्डले बताउनुभयो ।  नेपालमा जति पटक राजनीतिक क्रान्ति भए पनि उपल्ला तहका कर्मचारी परिवर्तन नगरिदा  समस्या आएको प्रचण्डको भनाई थियो ।

‘ठूला परिवर्तन भयो भने संसारभर नै नयाँ आउने सरकारले व्यूरोक्रेसीको सबभन्दा माथिल्लो लेयरलाई विदा गर्छ । सेक्यूरिटीमा पनि माथिल्लो लेयरलाई बिदा गरिन्छ । आफूप्रति लोयल हुने र यो परिवर्तनलाई बुझ्न सक्ने मान्छेहरुलाई भर्ती गर्छ । अनि मात्रै परिवर्तन संस्थागत हुन्छ ।’

कर्मचारीहरुमाथि खनिएका अध्यक्ष प्रचण्डले तोकेको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाट निकाल्नुको  विकल्प नभएको बताउनुभयो ।

सिंहदरबारको अधिकार गाउँमा पठाउन खोज्दा कर्मचारीकै कारण समस्या देखिएको भन्दै प्रचण्डले सरकारको निर्णय नमाने कर्मचारीलाई हटाएर नयाँ भर्ना गरिने बताउनुभयो । त्यसका लागि सरकारले नयाँ ऐन बनाउन बनाइरहेको प्रचण्डको  भनाइ थियो ।


तपाईको प्रतिक्रिया