(शरद शर्मा) काठमाडौँ : सातवटै प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालय र आवासगृहका लागि सरकारले भवन खोजिरहेको छ ।

‘प्रदेश सरकारको समस्याबारे बुझ्न गठित अध्ययन समिति’ले दिएको सुझावअनुसार मुख्यमन्त्री सम्पर्क कार्यालय र काठमाडाँै आउँदा बस्न आवासगृहका लागि भवन खोजिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिनुभयो ।
समितिले सङ्घ र प्रदेश सरकारबीच समन्वय गर्नका लागि सङ्घमा सातवटै प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालय र काठमाडाँै आउँदा बस्नका लागि आवासगृह राख्न सुझाव दिएको थियो ।

उहाँका अनुसार सरकारले भवन खोज्ने जिम्मा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलाई जिम्मेवारी दिइएको छ । सचिव मैनालीले सम्पर्क कार्यालय र आवासगृहका लागि भक्तपुरस्थित शिक्षा विभाग र महिला विभागको भवन हेरिएको जानकारी दिनुभयो ।

सरकारले प्रधानमन्त्री कार्यालयका सचिव मैनाली, केदार अधिकारी र लालशङ्कर घिमिरे रहेको तीन सदस्यीय प्रदेश सरकार समस्याका बारेमा अध्ययन समिति गठन गरेको थियो ।

सचिव मैनालीले प्रदेश सरकारमा देखिएका समस्यालाई अहिले सङ्घले समस्या समाधानसमेत गरिरहेको बताउनुभयो । अध्ययन समितिले प्रदेश सरकार सञ्चालनका लागि प्रशासनिक, कानून, भौतिक पूर्वाधार, सम्पत्ति हस्तान्तरण, कर्मचारी दरबन्दी अभावलगायत विषयमा समस्या रहेको औँल्याएको थियो ।

“अहिले हामीले अध्ययनका क्रममा देखिएका समस्यालाई क्रमशः समाधान गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “प्रदेश सरकारबाट समस्या आउँदा साथ हामीले सम्बन्धित निकायलाई समाधानका लागि पत्र लेखेर पठाइरहेका छौँ ।”

प्रदेश १ र २ मा सचिव मैनाली, प्रदेश नं ३ र गण्डकीमा सचिव घिमिरे र प्रदेश नंं ५, कर्णाली र ७ नं मा सचिव अधिकारीको टोलीले प्रदेश सरकारमा देखिएका समस्याबारेमा मुख्यमन्त्री कार्यालयका सचिव र मन्त्रालयका सचिवसँग छलफल गरेको थियो ।


तपाईको प्रतिक्रिया