काठमाडौं : नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट बर्सास्त गरिएकोलाई आजका सबै दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले   विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो ।

केही पत्रपत्रिकाहरुले प्रहरी अधिकारी बर्खास्तको समाचारसँगै निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणबारे पछिल्लो तीन महिनामा भएका छानबिनको प्रगतिबारे समेत साेधीखाेजी गरेका छन् । कार्यविभाजन टुंग्याउन नेकपाले शक्तिशाली कार्यदल बनाएकोलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्व दिएर लेखेका छन् ।

पत्रपत्रिकाको पहिलो पृष्ठमै कर्मचारी दबाबमा समायोजन अध्यादेश ल्याउन लागिएको, चामल ढुवानीमा चार एयरलाइन्स कम्पनीले सिन्डिकेट गरेको, अब प्रदेशकै नामबाट मोटरसाइकलको नम्बर प्लेट हुने भएकोलगायतका समाचार छन् ।

एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्तको समाचार लेखेको नागरिकले निर्मलाको हत्या भएको ३ महिना गुज्रिसक्दासमेत अनुसन्धान उपलब्धि शून्य भएको निष्कर्ष निकालेको छ । नागरिक लेख्छ– प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन ।

नागरिकमै कर्मचारी दबाबमा समायोजन अध्यादेश ल्याउन लागिएको समाचार पनि छ ।

सल्बलाइरहेका मानव तस्करहरु यतिबेला राज्यका लागि टाउको दुखाइको विषय बनेका छन् । तर, यस्तो तस्करीमा पतिले नै श्रीमतीलाई तस्करसम्म पुर्याउने गरेको नागरिकले आज खुलासा गरेको छ ।

‘साउन दोस्रो साता भारतको नयाँदिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो’, नागरिक आफ्नो खबरको अगाडि लेख्छ, ‘ती महिला विवाहित पनि थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतका अनुसार, उनीहरुलाई पतिले नै दिल्लीसम्म पुर्याएका थिए ।’ समाचार अनुसार अध्यागमन विभागले रोकटोक गर्ने सम्भावनालाई ध्यानमा राखी पतिहरु साथै गई दिल्ली पुर्याएर फर्काएका थिए ।

मासिक १० हजारभन्दा माथि आम्दानी हुने जानकारीकै भरमा महिला तस्करको हातमा पर्ने गरेको सीआईबीको अनुसधानले देखाएको छ ।

कान्तिपुरमा चार एयरलाइन्स कम्पनीले सिन्डिकेट गरी सम्झौताअनुसार खाद्यान्न ढुवानी नगर्दा यस पटकको दशैंमा हुम्लीले चामलको अभाव खेप्नुपरेको लेखेको छ ।

दशैंमा खाद्यान्न अभाव नहोस् भनेर खाद्य संस्थानले तारा, समिट, सीता र मकालु एयरलाइन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सहमति गरेको थियो । तर बढी कमाइ हुने भएपछि एयरलाइन्सहरु सम्झौताअनुसार ढुवानी नगरी यात्रु ओसार्न लागेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले फरक ढंगले निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको छानबिनमा भइरहेका प्रगतिबारे उधिनेको छ । घटनाबारे छानबिन गर्न ७ टोली गठन भए पनि ९२ दिनमा परिणाम भने शून्य रहेको नयाँ पत्रिकाको ठम्याइ छ ।

नयाँ पत्रिकामै पाँच हजार सिट क्षमताको सभाहल भक्तपुरमा बन्ने भएको, कार्यविभाजन टुंग्याउन नेकपामा शक्तिशाली कार्यदल बनेको लगायत समाचार छन् ।

विष्ट र भट्ट बर्खास्तबारे मुख्य समाचार लेखेको अन्नपूर्णले स्वतः एक तह बढुवा हुने गरी कर्मचारी समायोजन गर्दा राज्यलाई १५ अर्ब भार पर्ने हिसाब निकालेको छ ।

केन्द्र सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशमा २१ हजार र स्थानीय तहमा ५७ हजार कर्मचारी रहन्छन् । दुवै तहमा रहने ७८ हजार कर्मचारीलाई एक तह बढुवा गर्दा उनीहरुले पाउने तलब, ग्रेड, सञ्चयकोष, नागरिक लगानी कोष तथा अन्य सुविधा पनि बढ्छ । यस हिसाबले एउटा कर्मचारीको औसत मासिक खर्च १५ हजारले वृद्धि हुने अन्नपूर्ण पोष्ट्को समाचारमा उल्लेख छ ।

संविधानसँग बाझिएका कानून संशोधनको तयारी सुस्त भएकोलाई गोरखापत्रले एंकर बनाएको छ भने राजधानीमा अब प्रदेशकै नामबाट मोटरसाइकलको नम्बर प्लेन लिन सकिने सम्बन्धी समाचार छ ।

आजका पत्रपत्रिका


तपाईको प्रतिक्रिया