दमौली : भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा रु १० लाखको लागतमा भवन निर्माण गरिएको छ ।

नाचगान, वैदेशिक रोजगारीबाट गाउँ फर्किएका स्थानीय, वडा कार्यालयलगायत सङ्घसंस्थाको आर्थिक सहयोगमा महिलाले सामुदायिक भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि आमा समूहले नाचगान गरी सङ्कलन गरेको रु.तीन लाख, वडा कार्यालयको रु तीन लाख २५ हजार, वैदेशिक रोजगारीमा रहेका गाउँलेको रु एक लाख र सामुदायिक वनको रु तीन लाख खर्च भएको आमा समूहका अध्यक्ष विष्णुमाया थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवन निर्माण सम्पन्न गर्नका लागि अझै रु सात लाख आवश्यक पर्ने देखिएको छ । गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित बैठकका लागिसमेत एउटा हल आवश्यक भएपछि आमा समूहको सक्रियतामा भवन निर्माण गरिएको हो ।

तीस महिला आबद्ध रहेको समूहले महिला सशक्तीकरण, सीपमूलक तालीम, घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया