धुलिखेल । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले मन्त्रीहरुको काम कारबाही प्रति असन्तुष्टि जनाउनु भएको छ  ।मन्त्रीहरुलाई डण्डा चलाउन पनि अब प्रधानमन्त्रीले ढिला गर्न नहुने बताउनुभएको छ ।

बिश्वास भएपनि अपेक्षाकृत ढंगले अहिलेको सरकार चल्न नसक्नुमा यो प्रवृत्ति पनि मुख्य कारक रहेको वरिष्ठ नेता नेपालको भनाई रहेको छ । मण्डनदेउपुर नगरपालिकाद्धारा सञ्चालित नगर बस सेवाको उद्घाटन समारोहमा “प्रधानमन्त्री ओलीजी अब डण्डा चलाउनुस्, म तपाईको साथमा हुन्छु, पहिला मन्त्रीहरुलाई तह लगाउनुस्, त्यसपछि सचिवहरुलाई डण्डा चलाउनुस्, त्यसैगरी विभागहरुलाई चलाउनुस् अनि देशको समृद्ध निर्माणको थालनी हुन्छ ।” उहाले भन्नुभयो ।

वरिष्ठ नेता नेपालले नेकपाको दुई तिहाई सरकारप्रति जनताको अहिलेसम्मकै ठुलो अपेक्षा रहेकोले ति अपेक्षा अनुकुल अघि बढ्न अब राजनीतिक तहका व्यक्तिदेखी कर्मचारीसम्मलाई तह लगाउनुको विकल्प नभएको धारणा राख्नुभएको हो । यो मुलुक निर्माणमा सबैको सहभागिताको खाँचो रहेको बताउनुभयो । नेता नेपालले मण्डन देउपुर नगरपालिकाले हेलम्बु यातायात सेवा प्रालिसँग सहकार्य गरी यातायात सेवाको सुरुवात गरेकोमा प्रसंशा गर्नुभयो । अधिकारका कुराहरु मात्र उठाईन्छ, हाम्रा दायित्वहरुलाई पनि त भुल्न मिल्दैन,जिल्ला समन्वय समितिका प्रमुखले बस व्यवसायीहरुको पक्षमा मात्रै बोल्नुभो, त्यस भित्र पनि थुप्रै विकृति विसंगती छन्, सभ्य र अनुशासित ढंगले जनतालाई राम्रो सेवा दिनुपर्ने बताउनुभयो ।”

नगरका प्रमुख वाईबाले आफुहरु निरन्तर जनतासँको साक्षात्कारमा रहने उल्लेख गर्दै जनताको आवश्यकता अनुसार चुनाव अगाडी जारी गरेको घोषणापत्र, जनतामाझ गरेको प्रतिबद्धता पुरा गर्दै जानेक्रममा नगर बस सेवाको सुचारु गरेको जानकारी दिनुभयो । स्थानिय वडा कार्यालय, नगरपालिकाको कार्यालय, बजारसम्मको आवजजावतलाई सहज बनाउन नगरपालिकाले नगरकोट, देउपुर, ज्याम्दी, मण्डन, कुन्ता, दोलालघाट जस्ता स्थानिय रुटहरुमा आईताबारदेखी ६ वटा नगर बस सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया