बनेपा÷बिपी राजमार्गमा संचालन हुने माईक्रोहरुले तोकिएको भन्दा धेरै भाडा लिने गरेको गुनासो आएसँगै जिल्ला प्रहरी कार्यालयले माईक्रोमा छड्के जाँच सुरु गरेको छ ।

दशैं तिहारमा यात्रुहरुको अत्याधिक चाप हुने भएकाले मौकाको फाईदा उठाउँदै माईक्रोमा तोकिएको दररेटभन्दा धेरै भाडा उठाउने गरेको गुनासो लगत्तै जिल्ला प्रहरी कार्यालय र ट्राफिकको संयुक्त टोलीले गरेको अनुगमनमा तोकिएको भन्दा धेरै भाडा लिएको पाइएपछि ट्राफिकले कारवाही सुुरु गरेको छ ।

शुक्रवार प्रहरीले गरेको अनुगमनमा बा४ख ४१८ हायस रौताहमाई यातायातले कटारीसम्मको भाडा ८ सय ४ रुपैया लिनुपर्नेमा एक हजार तीन सय लिएपछि कारवाही गरेको हो । त्यस्तै, बा ३ ख ८६२८ हायस जानकी यातायातले जनकपुरको ७ सय ३६ रुपैया लिनुपर्नेमा एक हजार लिएको, बा ४ ख ६९०९ हायस जानकी यातायात जनकपुरको सात सय ३६ लिनुपर्नेमा एक हजार लिएको, बा ५ ख ५५५९ हायस सफल यातायात बिराटनगरको एक हजार ४३ लिनुपर्नेमा १ हजार तीन सय लिएपछि सबै सवारी साधनलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तोकिएको भन्दा धेरै रकम लिने सवारी साधनलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना हुने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले बताए ।


तपाईको प्रतिक्रिया