बनेपा । सवारी साधनको हरेक बर्ष नविकरण गर्नु पर्छ । नविकरण नगरेको सवारी साधनलाई ट्राफिक प्रहरीले जतिबेला पनि कारवाही गर्न सक्छन् ।

त्यस्तै मिनिरल वाटर कम्पनीहरुले अनिवार्य रुपमा पालना गर्नु पर्ने नियमको आधारमा सम्बन्धित निकायले अनुज्ञापत्र दिएको हुन्छ । अनुज्ञापत्रमा हरेक बर्ष आफूले उत्पादन गरेको पानी ठिक छ की छैन भनेर कम्पनी आफैले चेकजाँच गर्छ । आफैले गरेको चेकजाँचमा समेत पानी खान योग्य नरहँदा समेत बिक्री गर्दै आएको बुद्धल्याण्ड मेलम्ची मिनरल वाटर कम्पनीले उत्पादन गर्ने हिमालयन मेलम्ची मिनिरल वाटरमा कैफियत देखिएपछि सरकारी निकायले उद्योगमै शिल गरेको छ ।

सत्ता,शक्ति र प्रशासन प्रहरीसँग सामिप्यताको आधारमा आफूलाई विगतमा जोगाउँदै आएको हिमालयन मेलम्चीको पानी आफैले गरेको जाँचमा खान अयोग्य देखिएको छ । उसैको रिर्पाेटको आधारमा अनुज्ञापत्रमा उल्लेख गरे अनुसार मेलम्चीको पानी खान अयोग्य ठहरिएको हो । अनुगमन टोलीले समेत पानीको नमूना परिक्षणका लागि लिएर गएको छ । मध्यपहाडी जिल्लाहरुमा अत्याधिक खपत हुने हिमालयन मेलम्ची मिनिरल वाटरको बनेपास्थित उद्योगमा गुण तथा खाद्य नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले शिल गरेको छ ।

कम्पनी आफैले गरेको परिक्षणमा हिमालयन मेलम्ची मिनिरल वाटर खान अयोग्य रहेको परिक्षण नतिजालाई लत्याउँदै बजारमा बिक्री वितरण गरेको पाईएपछि उद्योगमा शिल गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । कम्पनीले हरेक बर्ष खाद्य तथा गुण नियन्त्रण विभागमा अनुज्ञापत्र नविकरण गर्नु अनिवार्य रहेपनि नविकरण नभएको, आफैले गरेको चेकजाँचमै पानीमा कैफियत देखिएको र जारको पानीमा शिल्ड नमारी सिधै उपभोक्तालाई बेचेकाले हिमालय मेलम्चीलाई शिल मारेको बताए । उनले उद्योगमा प्रर्याप्त सरसफाई समेत नदेखिएको बताए ।

अनुगमनकै क्रममा बनेपाकै पञ्च वेवरेजले उत्पादन गर्ने तृप्ती पानी उद्योगमा कैफियत देखिएपछि सो कम्पनीमा समेत अनुगमन गर्ने निकायले शिल मारेको छ । खाद्य तथा गुण नियन्त्रण विभागका खाद्य अनुशन्धान अधिकृत शिव भण्डारीको नेतृत्वको टोलीले काभ्रेका विभिन्न शहरहरुमा अनुगमन गरेको हो । काभ्रेमा रहेका खानेपानी उद्योगहरुले मिनिरल वाटरमा अधिकतम बिक्री मूल्य नराख्दा उपभोक्ताले चर्काे मूल्यमा पानी किनेर खान बाँध्य बनिरहेका छन् ।

बिहिवार काभ्रेको दोस्रो मुख्य शहर पनौतीमा रहेका मासु पसल, खाद्यान्न पसलहरु तथा मिठाई पसलहरुमा टेलीले अनुगमन गरेको थियो । अघिपछि अनुगमन नभएपनि चाडपर्वको मुखमा हुने अनुगमनले स्थानीयले राहतको महसुस गर्ने गरेका छन् ।


तपाईको प्रतिक्रिया