बनेपा   देशमा बढ्दो बलात्कार हत्या हिंसा र बेथिती बढेको भन्दै मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीमा रहेको ईन्द्रावती माध्यामिक विद्यालयका बालिकाहरुले नेपाल सरकारका प्रवक्तासँगै विशिष्ट व्यक्तित्वहरु सहभागी भएको कार्यक्रममा किशोरीहरुको सुरक्षा मागेका छन् ।

कोरियन रेडक्रसको आर्थिक सहयोगमा मण्डन देउपुर–१२ मा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माणसँगै समुदायलाई हस्तान्तरण गर्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, प्रदेशसभाका सांसद लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी,मण्डन देउपुरका प्रमुख टोकबहादुर वाइवा, काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत तथा प्रहरी प्रमुख रविराज खड्कालाई स्वागत गानमा सहभागी भएका किशोरीहरुले सुरक्षाको माग गरेका हुन् ।

सामान्यतया स्वागत गानहरुमा स्वागत गर्ने बिषयहरु समावेश हुनुपर्नेमा पछिल्लो समय देशमा किशोरीहरुमाथि बलात्कार र एसिड प्रहार बढेसँगै स्वागत गानमा किशोरीहरुले सुरक्षाको माग गरेका छन् । ‘संञ्चारमन्त्री प्रमुख अतिथी,हत्या हिंसा हटोस् है बेथिती’ भन्दै सुरुमै उनीहरुले मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । लगत्तै सांसदलाई विकासप्रेमी भएकाले जनताको दुखमा साथ दिन उनीहरुले आग्रह गरे ।

उनीहरुले भने,‘विकासप्रेमी, ए प्रदेश सांसद ज्यू, जनताको दुखमा साथ दिउ’ भन्दै सांसदलाई समेत आफ्नो सजक गराएका छन् । उनीहरुले स्वागत गितमै विकास गर्नेले विकास र सुरक्षा दिनेले सुरक्षा दिन आवश्यक भन्दै पदिय मर्यादा अनुसार काम गर्न सबैलाई अनुरोध गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले छोरीहरुको सुरक्षाका लागिनै सरकारले पोर्न साईडहरु बन्द गर्न लागेको बताएका छन् । ‘पोर्न साईडकै कारण घरमै छोरीहरु असुरिक्षत हुने भएकाले यस्ता साईडहरु बन्द गर्न लागेको हौ’मन्त्री बाँस्कोटाले भने ।

आजको खबरचौतारी साप्ताहिकमा समाचार प्रकाशित छ 


तपाईको प्रतिक्रिया