बनेपा ÷ दशैं नजिकदै गर्दा गाँउगाँउमा किसानले पालेको खसी आफ्नो बनाउन ठूला खसी व्यापारीले एजेन्टनै गाँउमा खटाउन थालेका छन् ।

गाँउवेसी गरेका र चरीचरन गरेका खसीको राम्रो मूल्य आउने भएपछि खसीबोका व्यापारीहरुले गाँउमै एजेन्ट राख्न थालेका छन् । पहाडका डाँडाकाँडा चढेर जडिबुटी खाएको खसीबोकाको राम्रो मूल्य पाउने भएपछि ठूला खसीबोका व्यापारीले गाँउ–गाँउमा खसी बोका किन्ने एजेन्ट खटाएका हुन् । खसीबोका खोजे वापत व्यापारीहरुले उनीहरुलाई खसीबोकाको तौलका आधारमा ५ सयदेखि १ हजार रुपैयासम्म उपलब्ध गराउने गरेका छन् ।

त्यो सँगै एजेन्टहरुलाई व्यापारीहरुले मासिक टेलिफोन खर्च भन्दै ३ हजारदेखि ५ हजासम्म उपलब्ध गराउने गरेका छन् । पछिल्लो समय काभ्रेको मुख्य बजार बनेपामा बाह्रै महिना खसी बोकाको कारोवार हुने भएपछि व्यापारीहरुले गाँउ गाँउमै खसी बोका खरिद गरेर राख्ने एजेन्ट नियुक्त गरेका हुन् । रोचक कुरा त अधिकाशं एजेन्टहरु प्लस टु पढ्ने विद्यार्थीहरु छन् । पढाई खर्च उठ्ने भएकाले उनीहरुले गाँउमा पुगेर खसी आफूले किन्ने बताउने गरेका छन् ।

गाँउकै मान्छेले खसीबोका किन्ने भनेपछि पैसा नडुब्ने भएकाले गाँउलेहरुले अरुलाई भन्दा केही सस्तोमै खसीबोका बेच्ने गरेका छन् । काभ्रेको खसी बोका उत्पादन धेरै हुने रोशी, तेमाल,कोशीपारि, डाँडापारि र पलाञ्चोक क्षेत्रमा ठूला व्यापारीहरुले घुमुवा व्यापारीसँगै एजेन्ट समेत राखेर खसीबोका संकलन थालेका हुन् । दशैं तिहारमा मात्रै हैन, बाह्र महिनानै काभ्रेको मुख्य बजार बनेपामा खसीबोकाको अत्याधिक माग भएपछि व्यापारीले गाँउगाँउमै एजेन्ट मार्फत काम थालेका हुन् । सिधै एजेन्ट भनेर काम लगाउँदा सुरक्षासँगै बिचौलिया भन्ने डरले ठूला व्यापारीहरुले उनीहरुलाई सार्वजनिक भने गरेका छैनन् । गाँउमै खसी बोकाको कारोवार गर्ने एजेन्टवाट घुमुवा व्यापारीहरुले बजारसम्म खसीबोका ल्याउने गरेका छन् ।

राजधानी नजिकै रहेकाले काभ्रेका विकट गाँउ तथा सिन्धुपाल्चोक र रामेछापका गाँउगाँउवाट व्यापारीले खसी बोका किनेर ल्याएर बनेपाको बजारमा बेच्ने गरेका छन् । दैनिक सयौंको संख्यामा सडकमै खसीबोकाको कारोबार हुने गरेको छ । सडकमा हुने कारोवारले व्यापारीहरुलाई असुरक्षा प्रदान गरेको छ भने खसीबोकामा समेत तरकारीमा भन्दा डरलाग्दो बिचौलिया हावी भएको छ । अघिपछि समेत अत्याधिक मात्रामा खसीबोकाको कारोवार हुने बनेपामा दशैंको मुखमा व्यापार नहुने कुरानै भएन । दशैं नजिकदै गर्दा बजारमा खसीबोकाको किनबेच धेरै हुन्छ । सरकारले पूर्वाधारको विकास नगरि खसीबोका किनबेचको लागि काभ्रेको बनेपालाई समेत खसीबोका किनबेचको केन्द्र तोक्ने गरेको छ । तर सरकारी संयन्त्रको प्रभावकारी रुपमा अनुगमन हुन नसक्दा खसीबोका पाल्ने किसानले सस्तोमा खसीबोका बेच्ने र उपभोक्ताले महंङ्गोमा किन्नुपर्ने बाँध्यता रहेको छ ।

बनेपा बजारमा एक किलो तयारी खसीको मासुको मूल्य एक हजार रहेको छ । तर किसानले जिउँदो खसीको एक किलोको मूल्य ४ सयभन्दा धेरै पाउन सकेका छैनन् । एउटा खसी किनेर तयार गरेर बजारमा बेच्दा १० किलो जर्ती जाने भएपनि किसानले खसीको राम्रो मूल्य पाउन सकेका छैनन् । एउटा खसी किसानको गोठवाट किनेर उपभोक्ताले खुद्रा मूल्यमा किन्दासम्म पाँच चरण पार हुन्छ । एजेन्ट मार्फत र घुमन्ते व्यापारीहरुले गाँउगाँउमा पुगेर खसीबोका खरिद गर्दै शहरसम्म ल्याउँछन् । गाँउमा पुगेर उनीहरुले हचुवाको भरमा ढाड नापेको भरमा खसीबोका किन्ने गरेका छन् । खसी किन्ने कुनै बैज्ञानिक आधार छैन । गाँउमा अप्ठारो परेकाले किसानहरुले सस्तो मूल्यमै खसीबोका बेच्ने बाँध्यता छ ।

यसरी घुमन्ते व्यापारीहरुले काभ्रे, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकका गाँउहरुवाट बढीमा जिउँदो खसीको ३ सय ५० रुपैयामा किनेर बजारसम्म ल्याउने गर्दछन् । बजारमा पैसा बोकेर बिचौलिया बसेका हुन्छन् । गाँउमा जाने घुमन्ते व्यापारीहरुलाई उनीहरुले पहिल्यै पैसा दिएर पठाएकाले त्यसमा केही नाफा राखेर घुमन्ते व्यापारीले ठूला व्यापारीलाई खसी दिने गरेका हुन्छन् । ठूला व्यापारीहरुसँग पुनः मासु पसलमा लिएर जाने व्यापारीलाई खसी उपलब्ध गराउँछन् ।

त्यसपछि खसीको मासु बेच्ने पसलले खसी काटेर उपभोक्तालाई उपलब्ध गराउने गर्दछन् । किसानसँग ३ सय ५० प्रतिकिलोमा किनेको खसी उपभोक्ताले तयारी रुपमा किन्न एक हजार तिर्ने बाँध्यता रहेको छ । खसी बोका आफ्नै बनाउन घुमन्ते व्यापारीहरुलाई ठूला व्यापारीले सुरुमै लगानी गरेका हुन्छन् । उनीहरुले गाँउमै एजेन्ट खटाएका हुन्छन् । गाँउमा घुमुवा व्यापारीले समेत एउटा खसी खोजे वापत गाँउकै बिचौलियालाई प्रति खसी बोका ५ सय रुपैयासम्म उपलब्ध गराउने गर्दछन् । यसले व्यापारीलाई फाईदा पुगेपनि आम उपभोक्तलाई भने घाटा हुने देखिन्छ ।

आजको खबरचौतारी साप्ताहिकमा समाचार प्रकाशित छ 


तपाईको प्रतिक्रिया