मंगलटार । आँखाको समस्या भएरपनि अस्पतालसम्म जान नसक्ने जनताको लागि रोशी गाँउपालिकाले पाँच दिने निशुल्क आँखा शिविरको आयोजना गरेको छ । रोशी गाँउपालिका–९ मंगलटारमा गरिब तथा अस्पतालसम्म जानसक्ने पँहुच नभएका नागरिकका निमित्त आँखा शिविरको आयोजना भएको हो ।

रोशी गाउँपालिका वडा नं ९ मंगलटारको आयोजनामा भएको शिविर नेपाल नेत्रज्योती संघ र किर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको रोशी गाउँपालिकाका वडा नं ९ का वडा सदस्य कान्छामान तामाङले बताए । गाँउमा धेरैको आँखामा समस्या देखेपछि वडाले निशुल्क आँखा शिविर आयोजना गरेको तामाङले बताए ।

एक दिनमा धेरैको आँखा चेकजाँच गर्न समस्या भएकाले पाँच दिनसम्म मंगलटारमै बसेर सेवा दिएको उनले बताए । पाँच दिनको शिविरमा रोशी गाँउपालिकासँगै तेमाल गाँउपालिकाका पाँच सयभन्दा धेरै बिरामीले उपचार गराएको गाँउपालिका अध्यक्ष डिबी लामाले बताए ।

‘ पाँच दिनको आँखा शिविरमा पाँच सय जनाले उपचार गराउनु भएको छ’अध्यक्ष लामाले भने । ‘शिविरले हामीलाई अरु वडामा पनि स्वास्थ्य शिविर गर्न प्रेरणा दिएको छ,अध्यक्ष लामाले स्पष्ट पारे । पाँचसयभन्दा धेरैले उपचार गराएको शिविरमा एक सय ११ जनाको मोतियाविन्दु भएकाले उहाँहरुको समेत सफल उपचार गरेको अध्यक्ष लामाले भने ।


तपाईको प्रतिक्रिया