काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्तिपूर्ण राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक सङ्क्रमणको व्यवस्थापन विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ ।

अमेरिकाको न्यूयोर्कमा आज संयुक्त राष्ट्रसङ्घीय महासभाको ७३ औँ महाअधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओेलीले नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरैका लागि अभिप्रेरणा बन्नसक्ने विश्वास व्यक्तगर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्नु आफ्ना लागि महत्वपूर्ण काम भएको र गतवर्ष सङ्घीय, प्रान्तीय तथा स्थानीय तहको निर्वाचन स्वतन्त्र एवं निष्पक्ष रुपमा सम्पन्न हुनु संविधान कार्यान्वयनकै उदाहरण भएको बताउनुभयो  ।

प्रधानमन्त्री ओलीले क्षेत्रीय सहयोगको प्राथमिकता अनुसार नेपालले हालै बिमस्टेकको चौँथो शिखर बैठक आयोजना गरेको र सार्कलाई महत्वपूर्ण क्षेत्रीय सङ्गठनको रूपमा पुनः सबल भएको देख्न चाहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सबैसँग मित्रता कायम राख्ने र कसैसँग शत्रुता नराख्ने नेपालको विदेश नीति रहको उल्लेख गर्नुभयो । आजै प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भयो ।

भेटका अवसरमा अन्तर्राष्ट्रिय शान्ति स्थापनाको  अभियान र त्यसमा नेपालको भूमिका विस्तार लगायत नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

त्यस अवसरमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको पुनःसंरचना तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रसङ्घीय सहयोगको वचनबद्धता दोहो¥याउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको विकासमा राष्ट्र सङ्घको सहयोगप्रति कृतज्ञता प्रकट गर्नुभयो ।


तपाईको प्रतिक्रिया