हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलका लागि आज दुई वटा विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सञ्चारमाध्यमसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले प्रदेश यातायात व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । दुबै विधेयक यही असोज १९ गते दिनको १ बजे बस्ने प्रदेशसभाको ५१ औँ बैठकमा छलफल हुने छ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बढाथोकीले रासससँग संक्षिप्तमा कुराकानी गर्दै प्रदेशसभाको बैठकले हालसम्म विभिन्न १८ विधेयक पारित गरिएको र तीमध्ये १७ विधेयक प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रमाणीकरण गरी पठाउनुभएको जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया