पस्थली । पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले समग्र पनौतीलाई बालमैत्री नगर बनाउने उद्देश्य अनुरुप वडा नं १० लाई पनि चाँडै बालमैत्री बनाउनका लागि सरोकारवालाहरु सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

सिविन शान्ति बालिका गृहको आतिथ्यता शनिबार वडा बालसंरक्षण समिति र अनुगमन समितिको संयुक्त बैठकलाई सम्बोधन गर्दै न्यौपानले भने, ‘नगरकै पहिलो वडा र ३ नं प्रदेशको दोस्रो बालमैत्री वडाका रुपमा १२ नं वडा घोषणा भइसकेको सन्दर्भमा १० नं.ले देखाएको सक्रियता प्रशंसनीय छ’, उनले थपे । पनौती नगरपालिकाका वडा नं १२ यस अघि नै बालमैत्री घोषणा भएको र बाँकी वडाहरु पनि बालमैत्री बन्ने तरखरमा रहेका छन् ।

वडा नं १० यस क्रममा निक्कै अगाडि बढेकोमा सर्वत्र प्रशंसा हुन थालेको छ । बालमैत्री वडा घोषणा गर्ने वडालाई बालबालिकाकै क्षेत्रमा काम गर्नुपर्ने शर्तमा ५ लाख रुपैंया पुरस्कार दिइनेसमेत नगरसभाबाट निर्णय भएको मेयर न्यौपानेको भनाई छ । सोही बैठकमा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बालमैत्री वडा घोषणाका लागि तोकिएका सूचकहरु पुरा गर्नु पर्ने कार्यविधिमा उल्लेख भएको जानकारी दिए, ‘कतिपय सूचकहरु वडा नं १० ले यस अघि नै पुरा गरिसकेको भए पनि अभिलेखीकरण हुन नसक्दा पुरा गर्न नसकिएलजस्तो भान भए पनि क्रमशः पुरा गर्दै जान सकिन्छ’, उनले सुझाए ।

बैठकमा नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख केशवप्रसाद बन्जाराले बालमैत्री वडा घोषणाका ३९ वटा सूचकहरुलाई सरलीकरण गर्दै नगरपालिकाका विषयगत शाखाहरुको समन्वयमा पुरा गर्न सकिने दृष्टान्त दिए । सिविन शान्ति बालिका गृह पस्थलीकी प्रमुख भगवती श्रेष्ठ र मिसन हिमालय इको होम दाहालटारका सञ्चालक कल्याण सिल्वालले बालमैत्री घोषणाका लागि आवश्यक पर्ने ज्ञान र सीपका लागि आ–आफ्ना संस्थाले प्राविधिक सहयोगहरु उपलब्ध गराउन सकिने वचन दिएका थिए ।

बैठकले बालमैत्री वडा घोषणाका लागि वडाको फोकल पर्सनका रुपमा वटा सचिव सुनिल भण्डारीलाई तोकेको छ । वडाध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा पत्रकार एवं दुबै समितिका सदस्य मधुसुधन गुरागाईं, कार्यपालिका सदस्य रामकाजी पहरी, वडा सदस्य सरिता अधिकारी नेपाल, श्रीबाल आदर्श आधारभूत विद्यालयका प्रअ राजेशराज महत, श्रीबाल आदर्श मावि खोपासीका प्रअ राजकुमार श्रेष्ठ र श्रीराम उमाविका शिक्षक ज्योतिप्रसाद सापकोटालगायतले बालमैत्री वडा घोषणाका सन्दर्भमा पुरा गर्नु पर्ने सूचकहरुका लागि कामको बाँडफाँट आवश्यक भएको र तोकिए बमोजिम काम गर्न तयार रहेको विचार राखेका थिए ।


तपाईको प्रतिक्रिया