जनकपुर ।  एक मधेस एक प्रदेशको नारासहित संविधान दिवसको विरोध गर्ने सिके राउतका दुई सयभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् ।  बुधबार बिहानैदेखि संविधान दिवसको विरोध गर्दै सडक उत्रिएका राउतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

‘हिडौं जनकपुर भरौं जनकपुर’ नाराका साथ अभियान चलाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले हस्तक्षेप गरेपछि राउतका कार्यकर्ताले जनकपुरमा बुधबार बिहान गर्ने भनेको विरोध कार्यक्रम भने स्थगित भएको छ । प्रहरीले बल प्रयोग गरे पनि राउतका हजार बढी कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरे।

विरोध जुलुससहित कार्यकर्ता जनकपुरको बाह्रबिघा मैदानमा उपस्थित भएका छन् । विरोध कार्यक्रममा राउत स्वयं उपस्थित हुने बताइएको भए पनि अहिलेसम्म उनी उपस्थित भएका छैनन् । प्रहरीले कार्यक्रममा हस्तक्षेप गरेपछि  विरोध कार्यक्रम नै स्थगित भएको छ ।  संविधान दिवसको अवसर पारेर जनकपुरमै राजपाका स्थानीय नेता–कार्यकर्ताले पनि विरोध जुलुस निकाल्ने तयारी गरिरहेका छन् ।

प्रदेश २ का मन्त्री नै संविधान विरोधी गतिबीधिमा 
केन्द्र सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै नेता संविधान दिवसको विरोधमा उत्रिएका छन्।

जनकपुरमा बुधबार दिउँसो राजपाका नेताले संविधान दिवसको विरोध गर्दै नाराबाजी गरेका हुन् । विरोध कार्यक्रममा राजपाको तर्फबाट प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह सहभागी भएका छन् । मन्त्रीकै अगुवाइमा विरोध प्रदर्शन भएको हो।  तीन वर्षअघि संविधानसभाबाट बनेको संविधान त्रुटिपूर्ण भन्दैआएको राजपाले केपी ओली नेतृत्वको सरकारलाई संसदमा समर्थन पनि गरेको छ ।


तपाईको प्रतिक्रिया