बनेपा । कुकुर घुक्यो भने तपाई ढुंगा टिपेर कुट्ने गर्नु भएको छ । कुनै जनावरलाई कुट्ने पिट्ने काम गर्नु भएको छ भने त्यस्तो बानी आजैवाट त्याग्नुस्, हैन भने प्रहरीको फन्दामा पर्नुहुन्छ ।

काभ्रेको बनेपामा घर पालुवा कुकुरलाई कुटेको आरोपमा उजुरी दर्ताभएपछि प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ । बनेपा–७ सिनागालका संविधानबहादुर जोशीको घरमा पालेको कुकुरलाई कुटपिट भएपछि उनी प्रहरी कार्यालयमा उजुरीदिन पुगेका थिए । उजुरीपछि प्रहरी समस्यामा पर्याे,कारवाही कसरी गर्ने, घाउजाँच गर्ने की नगर्ने ? घरमै पालेको कुकुरलाई दुई युवाहरुले कुटेको उजुरी हाल्न ईलाका प्रहरी कार्यालय पुगेपछि प्रहरीले उपाय सोच्यो अनि हतारहतार मुलुकी अपराध संहिता पल्टायो ।

मुलुकी अपराध(संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ९ को उपदफा ७ बमोजिम प्रमुख जिल्ला अधिकारीवाट पक्राउ अनुमति प्राप्त गरेसँगै ईलाका प्रहरी कार्यालय बनेपाले पहिलो पटक कुकुर कुटेको दुईजना युवालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक सुनिलजंग शाहले बताएका छन् ।

बनेपाको सिनागालमा जोशीको घरमा पालेको टमी र काली नामक कुकुरलाई कुटेको आरोपमा प्रहरीले दुई युवालाई बनेपावाटै नियन्त्रणमा लिएको थियो । भदौ २२ गते कुकुर कुटेका युवाहरुलाई प्रहरीले भदौं २४ गते नियन्त्रणमा लिएको हो । पशु कुटेको आरोपमा ईलाका प्रहरी कार्यालय बनेपाले पहिलो पटक मुद्धा दर्ता गरेको छ । २०७५ भदौ २२ गते साँझ ८ बजे मादक पदार्थ सेवन गर्दै सडकमा होहल्ला गर्दै हिडेपछि कुकुरहरु एक्कासी घुकेका थिए ।

कुकुरले घुकेको भन्दै काभ्रेको खानिखोला गाउँपालिका ७ घर भई बनेपा ७ सिनागालमा डेरा गरी बस्ने बर्ष १९ का सुरेश भ्लोन र धुलिखेल नगरपालिका वडा नम्वर १ घर भएका बर्ष २८ का राज लामाले बनेपा–७ संविधानबहादुर जोशीको घरमा बाँधेर राखेका दुई कुकुर टमी र कालीलाई रडले हिक्राउँदा उनीहरुको खुट्टा भाँचिएको थियो । आफ्नै परिवारको सदस्यजस्तै माया गरेर पालेको कुकरको खुट्टा भाँच्ने गरि कुटेपछि कुकुर धनी जोशी र आक्रमणकारीबिच सामान्य वादविवाद समेत भएको थियो । वादविवादकै क्रममा युवाहरुले खुकुरी ल्याएर कुकर काट्ने प्रयास गरेपछि जोशीले प्रहरीलाई उजुरी दिएका थिए ।

नयाँ कानुन कार्यान्वयन गर्नुपर्ने भएकाले प्रहरीले कुकुरमाथि आक्रमण गर्नेलाई कारवाहीको लागि प्रमुख जिल्ला अधिकारीसँग अनुमती मागेसँगै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले अनुमती प्रदान गरेका थिए । अनुमती पाएलगत्तै प्रहरीले जिल्ला अदालत काभ्रेवाट म्याद थप गरेर अनुशन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राउतले यस्तो प्रकृतीको कसुरमा पहिलो पटक पक्राउ पुर्जी जारी गरी अनुसन्धानका लागि म्याद दिएको बताए ।

इलाका प्रहरी कार्यालय बनेपाले पशुपक्षी सम्वन्धी मुद्दा पहिलो पटक दर्ता भएको बताए । प्रहरीले कुकुरको घाउजाँच गरेर उपचारको निम्ति पशु चिकित्सालय पठाएको छ । प्रहरीले टमी र काली घटनानै दर्ता गरेर कानुनी प्रकृयाअघि बढाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।


तपाईको प्रतिक्रिया