बनेपा । सहकारीहरुको छाता संगठन जिल्ला सहकारी संघको ५१ औं सभा गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

मंगलवार बनेपाको केएन वैक्वेन्टमा भएको सभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारमा वहालवाला मन्त्रीहरु फेरिने हल्लामात्रै भएको बताएका छन् । गृहमन्त्री थापाले प्रधानमन्त्रीज्यूले समेत यो हल्ला मात्रै भएको भनिसकेकाले मन्त्रीहरु हेरफेर हुनु हल्लामात्रै भएको बताएका छन् । उनले देशको शान्ति सुरक्षाको व्यवस्था राम्रो भएको बताए ।

गृहमन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिनुभएको राजीनामाको सम्बन्धमा छानविन भैरहेको बताए । ‘उहाँको राजिनामाको बारेमा छानविन भैरहेको छ, के त्यसको कारण पत्ता लाग्नेछ ’ थापाले भने । पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति भने कसैसँग नभएको मन्त्री थापाले स्पष्ट पारे । जिल्ला सहकारी संघ काभ्रेले ५१ बर्षमा प्रवेश गरेकोम उनले बधाई दिएका थिए । उनले सहकारी संघ ५१ बर्षमा प्रवेश गर्नु सानो कुरा नभएको बताए ।

उनले देश राजतन्त्रवाट गणतन्त्रमा प्रवेश गरेकाले अबको चरण भनेको विकासको चरण रहेको बताए । उनले अब विकासको चरण भएकोले सबैले विकास गर्नको लागि प्रयास गर्न आवश्यक रहेको मन्त्री थापाले बताए ।विकास भनेकै समाजवाद भएकाले सहकारीको विकासले समृद्धि र समाजवाद ल्याउनमा सहयोग गर्ने गृहमन्त्री थापाले बताए । सहकारी भनेको समाजवादमा पुयाउने साधन रहेको थापाले दावी गरे ।

सो अवसरमा काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर केन्द्रीय संघमा नेतृत्व गर्ने पूर्वमन्त्री एंव सहकारी केन्द्रीय महासंघका अध्यक्ष केशव वडाल, सहकारी अभियान्ता कुलचन्द्र अधिकारी, दुग्ध उत्पादक संघका पूर्व कोषाध्यक्ष दीपकप्रसाद पौडेल,तरकारी उत्पादक केन्द्रीय संघका ईश्वरीप्रसाद पौडेल,दुग्ध संघकै यदुनाथ गौतम, नारयण वडाल,मौरी संघका पुर्ण पाण्डे, निर्मल त्रिपाठी, राजन पराजुली, बचत संघका शम्भुलाल श्रेष्ठ लगायतका तीन दर्जन सहकारी अभियान्तालाई सम्मान गरिएको थियो ।

सो अवसरमा संघ स्थापनादेखि हालसम्म सहयोग नेतृत्व संघका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा गृहमन्त्री थापाले जिल्ला सहकारी संघले प्रकाशन गरेको सहकारीसम्बन्धी पुस्तक जुइनोको दोस्रो अंक विमोचन गरेका थिए । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दिलिप शर्माले गरेका थिए । कार्यक्रममा बोल्दै सहकारी महासंघका अध्यक्ष केशव वडालले काभ्रे सहकारीको उर्वरभुमी रहेको र काभ्रेवाट धेरै सहकारीकर्मीहरुको जन्म भएको बताए ।

उनले काभ्रेवाटै प्रतिनिधित्व गरेको आधारमा गृहजिल्लामा सम्मानित हुँदा खुसी लागेको बताए । उनले सहकारी देशको तीन खम्बे अर्थनीतिमा सबैभन्दा महत्वपुर्ण रहेको समेत बताउँदै आगामी दिनहरुमा सहकारीको विकासमा काभ्रेले विशेष भुमिका खेल्ने उनले बताए । कार्यक्रममा जिल्लाभरिका सहकारीका अभियान्ताहरु, सहकारीकर्मीहरु, नागरिक समाजको उपस्थित रहेको थियो ।


तपाईको प्रतिक्रिया