काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताउनुभयो ।

चारदिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग छलफल गर्दै उहाँले भारतले नेपालको र नेपालले भारतको संवेदनशिलता बुझेर काम गर्नुपर्ने बताउनुभएको हो ।

‘सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन तथा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनु भ्रमणको उद्देश्य हो’ उहाँले भन्नुभयो ।

हाल दुई देशबीचको सम्बन्धमा सकारात्मक विकास भएको उहाँले बताउनुभयो । ‘नेपालमा राजनीतिक स्थिरतासँगै बलियो सरकार बनेको छ, भारतमा पनि बहुमतको सरकार छ, भारतीय प्रधानमन्त्रीको ‘छिमेकीलाई पहिलो’ नीतिअन्तर्गत काम भइरहेका छ । यही अवस्थामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्छ, भारतको संवेदनशीलतालाई नेपालले बुझ्नुपर्छ’ उहाँले भन्नुभयो ।

भारतीय सुरक्षा सल्लाहकार अजित  डोभालसँगको भेटमा भारतमा विभिन्न पेशा, व्यवसायमा संलग्न तथा उद्योग, कलकारखानामा काम गर्ने र दैनिक रोजीरोटीका लागि मजदूरी गर्ने नेपाली नागरिकको पक्षमा आफूले गम्भीर ढङ्गले छलफल गरेको उहाँको जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री दाहालले बदलिएको परिस्थितिमा नेपाली कार्यवाहक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक तथा गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रवासी नेपालीले नेपाल–भारत सीमामा हुने गरेका घटना रोक्न पहल गर्न अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए । उनीहरुले बैंक खाता, मतदाता परिचयपत्र, बीमालगायत समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा बिहीबार साँझ अध्यक्ष प्रचण्ड र भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचार विमर्श भएको थियो । भेटका क्रममा पछिल्लो समय दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकतालाई अझ सुदृढ गर्ने, दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीलाई छिटोभन्दा छिटो तालीकाअनुसार कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवलायले जनाएको छ ।


तपाईको प्रतिक्रिया