काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं प्रजातन्त्र सेनानी सूर्यराय यादवको निधन प्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत नेता यादव निधनले निधनबाट काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं प्रजातन्त्र सेनानी सङ्घ रौतहटका अध्यक्ष यादवको आज बिहान आफ्नै निवासमा निधन भएको हो । प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा स्व यादवले विसं २०१९ देखि २०३६ सम्म १७ वर्ष निरन्तर जेल जीवन बिताउनुभएको थियो । स्व यादवले मुक्ति वाहिनीमा समेत काम गर्नुभएको काङ्ग्रेसले जनाए ।

काङ्ग्रेसका पूर्वसभापति एवं सन्त नेता कृष्णप्रसाद भट्टराई, सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री खुमबहादुर खड्का लगायतका नेतासँग जेलमा उहाँसँगै हुनुहुन्थ्यो । स्व यादवले काङ्ग्रेस रौतहट निर्वाचन क्षेत्र नं २ को दुईपटक क्षेत्रीय सभापति भएर जिम्मेवारी समेत बहन गर्नुभयो ।


तपाईको प्रतिक्रिया