धुलिखेल । युवा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २२ औँ स्थापना दिवसको अवसर पारेर पाँचखाल नगरपालिका स्थित श्री गणेश मा.वि. का गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई निःशुल्क झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अवसरमा संस्थाका तर्फबाट अध्यक्ष उदयराम कायस्थ, सञ्चालक समिति तथा शिक्षा उप–समिति संयोजक कौशलराज खड्का, सञ्चालक समिति सदस्य तथा बाल उप–समिति संयोजक अनु मस्याजू, लेखा सुपरिवेक्षण समिति संयोजक विकास पन्त, लेखा अधिकृत निश्चल सापकोटा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो विचार प्रस्तुत गर्ने क्रममा संस्थाका अध्यक्ष उदयराम कायस्थले युवा बचत तथा ऋण सहकारी संस्था लि. समाजका विपन्न वर्गप्रति नै समर्पित संस्था भएकोले विपन्न वर्गमा लक्षित कार्यक्रमहरू निरन्तर गर्दै आइरहेको बताउनुभयो ।

सञ्चालक समिति सदस्य तथा शिक्षा उप–समिति संयोजक कौशलराज खड्काले सहकारी संस्थाले बचत संकलन गरी कर्जा लगानी गर्ने मात्र नभई यस्ता खालका सामाजिक कार्यमा पनि संलग्न भई मानवताको परिचय दिन सक्छ भन्ने उदाहरण यस संस्थाले दिन सकेको बताउनुभयो । संस्था स्थापना दिवसकै अवसर पारेर युवा बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैँकिङ सेवा सुचारु गरेको छ । उक्त सेवाको उद्घाटन काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष विनोद पराजुलीको हातबाट संस्थाको एप्लिकेसन डाउनलोड गरी गरिएको थियो ।

यो सेवा प्रयोग गरी संस्थाका सदस्यहरूले घर बसी बसी मोबाइल रिचार्ज गर्न, टि.भी. रिचार्ज गर्न, बिजुलीको बिल तिर्न, आफ्नो खातामा रहेको ब्यालेन्सबारे जानकारी लिने लगायतका कार्य गर्न सक्नेछन् । यसै अवसरमा भाद्र १७ गते पाँचखाल नगरपालिका वडा नंं. ६ स्थित संस्थाको बचत संकलन केन्द्रमा ‘उत्कृष्ट बुहारी सम्मान’ कार्यक्रम पनि सम्पन्न गरेको छ । नेपाली संस्कार अनुसार वृद्धावस्थाका पारिवारिक सदस्यहरू (सासू, ससुरा) लाई अनवरत हेरचाह गर्ने, सम्मान गर्ने, लालनपालनमा ध्यान दिने, बालबालिकाहरूको उत्कृष्ट हेरचाह गर्नुका साथै अन्य सामाजिक, आर्थिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय बुहारीहरूलाई प्रदान गरिएको उक्त सम्मान कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री रामशरण दुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस प्रकारको सम्मान कार्यक्रमले सबैलाई नैतिक शिक्षा दिने बताउनुभयो । उक्त कार्यक्रममा संस्थाका सदस्यद्वय मैयाँ तामाङ र माया तामाङलाई प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गर्नुभएको । सम्मानित बुहारीहरूलाई सम्मान–पत्रका साथै मायाको चिनो पनि प्रदान गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष उदयराम कायस्थ, लेखा सुपरिवेक्षण समिति संयोजक विकास पन्त, महिला उप–समिति सदस्य रेश्मा श्रेष्ठ, लेखा अधिकृत निश्चल सापकोटा लगायतको उपस्थिति रहको थियो । यसका साथै कार्यत्रक्रमका अवधारणाकार तथा संयोजक शेरबहादुर श्रेष्ठलाई पनि खादा ओढाई सम्मान गरिएको थियो ।


तपाईको प्रतिक्रिया