पाँचखाल । सडकमा छाडा चौपायाको संख्या बढेसँगै काभ्रेको पाँचखाल नगरपालिकाले छाडा चौपाया संरक्षणको लागि आश्रम निर्माण गर्ने भएको छ ।

पाँचखाल नगर क्षेत्रमा छाँडा चौपायाहरुको संख्यामा निरन्तर बृद्धि भएसँगै दुर्घटनाको जोखिम बढेपछि पाँचखाल नगरले छाडाँ चौपायालाई आश्रममा सेल्टर दिएर त्यसवाट आम्दानी लिने योजनासँगै आश्रम निर्माणको प्रकृया अघि बढेको हो । पाँचखाल नगरपालिका र पशुपन्छि प्रति निर्दयिता रोकावट समाज नेपालबिच यसै आर्थिक बर्षमा काभ्रेको पाँचखाल नगरपालिका वडा नं १० वालुवामा पशु चौपाया आश्रम बनाउने सहमती भएको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बताए ।

नगरको संरक्षणमा तत्कालका लागि आश्रम निर्माणका लागि नगरले पशुपन्छि प्रति निर्दयिता रोकावट समाज नेपाललाई १३ रोपनी जग्गा भाडामा उपलब्ध गराएको खरेलले बताए । ‘१३ रोपनी जग्गावाट प्राप्त हुने बार्षिक ५० हजार भाडा आजाद माध्यामिक विद्यालयलाई उपलब्ध गराउने छौ’मेयर खरेलले बताए ।

पाँचखाल नगरपालिका क्षेत्रभित्र तथा सडकमा छाडा रुपमा अलपत्र रुपमा छोडिएका सडकका बाच्छाबाच्छीहरुको रेखदेख,स्याहार संम्भार तथा औषधी उपचारको लागि गोठ सेल्टर निर्माण गरि संचालन गरिने सम्झौता भएको छ । समाजका अध्यक्ष विकेशकुमार श्रेष्ठले आफूहरुले २८ बर्षदेखि संचालन गरेको अभियानमा पाँचखाल नगरले साथ दिएको बताए । ‘हामीले धेरैलाई प्रस्ताव गरेपनि पाँचखाल नगरले सहयोग गरेसँगै अब कम्तिमा १ सय ओटा पशुहरुलाई सेल्टर दिने घरहरु निर्माण गर्नेछौ ।’

आफूहरुजस्तै सडकमा छाडा रुपमा छाँडिएका पशुहरुको संरक्षणमा चासो राख्ने सहयोगीहरुको सहयोगमा पशुहरुको उपचार तथा संरक्षण गरिने संस्थाको कोषाध्यक्ष सम्झना आचार्यले बताईन् । तत्कालै काभ्रेको बनेपा, धुलिखेल र पनौती नगरपालिकामा समन्वय गरेर आफूहरुलाई काभ्रे जिल्लाभरिका छाडा पशुहरुको संरक्षण थाल्न लागेको आचार्यले बताईन् ।


तपाईको प्रतिक्रिया