बनेपा l  १९५९ मा नौकन्यालाई पुजा गरेर सुरुवात भएको बनेपाको सनातन कन्या पुजामा यो बर्ष एकैसाथ ८ हजार कन्या पुजिएका छन् । एक सय १५ बर्ष पुरानो पुजालाई सनातन कन्या पुजा संचालक समितिले निरन्तरता दिई रहेको छ । हरेक बर्ष श्रीकृष्ण जन्माष्टमीका अवसरमा बनेपामा एकैसाथ हजारौ कन्या पुजित हुनेमा यो बर्षपनि आठ हजार कन्या पूजीएका छन् ।

दुःख हट्ने जनविश्वासले बनेपामा यो पूजा एक सय १२ बर्षदेखि निरन्तर चल्दै आएको छ । प्राचीनकालमा भूजुङ र प्रागःइतिहासमा सातगाउँ भनिएको बनेपामा भोछिभोया खलकले अन्यन्तै दुःख पाएपछि दुःख हट्ने विश्वास गर्दै प्रत्येक बर्ष भदौ कृष्ण पञ्चमी र भदौ सप्तमीका दिन बनेपामा नगरमा १० बर्ष मुनिका कन्यालाई पूजा गर्दै आएको ईतिहास छ । एक सय १५ बर्ष पुगेको यो पूजामा यस बर्ष आईतवार आठ हजार कन्या पूजीएको सनातन कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष गोपालसिं मुस्याजुले बताएका छन् ।

मुस्याजुका अनुसार वि.सं. १९५९ भदौ ५ गते बनेपास्थित भोलाखा टोलबाट सुरुभएको कन्यापूजामा नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बुइगलमा राखेर पुजिँदै आइएको थियो । त्यतिबेला सातगाउँ भनिएको बनेपाका भोछिभोया खलक चण्डेश्वरी देवीका सन्तती मानिन्छन् । चण्डेश्वरी पनि कन्या भएकाले यहाँ हुने जुनसुकै पूजामा पनि सबैभन्दा कम उमेरको कन्यालाई प्रसाद खुवाएर ठूलालाई खुवाउने प्रचलन छ । मान्यताअनुसार यो पूजामा सम्लग्न भएपछि हरेक कार्यसिद्ध हुनुका साथै चेलीबेटीहरू निरोगी रहन्छन् ।

बुईगलबाट चोक, चोकबाट टोल र टोलबाट बस्तीभरी कन्यालाई राखेर पूजा गरिने यस प्रचलनको सुरुमा स्थानीय भद्रभलादमीको उपस्थितिमा तीन सय १७ रूपियाँ पचास पैसाको जगेडा कोष स्थापना गरिएको कुरा त्यतिवेलाको कागजपत्रमा उल्लेख छ । पूजालाई निरन्तरता दिन अक्षयकोष पनि खडा गरिएको छ । स्थानीयका अनुसार बनेपा वकुटोलका लालबहादुर भोछिभोयाले यो प्रचलन सुरु गरका हुन् । तीन सय १७ रुपैयावाट सुरु भएको अक्षयकोष यतिबेला १२ लाख पुगेको सनातन कन्या पुजा संचालक समितिले बताएको छ ।

समितिका सचिव एंव उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले यो बर्ष कोषमा २० लाख रुपैया पुग्ने आशा रहेको बताएका छन् । कन्यालाई पूजा गर्न काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौँ र ललितपुरका सयौं मान्छेहरू महिनौं अगाडिदेखि मानसिक रूपमा तयार रहन्छन् । ‘पूजाका लागि एक महिनादेखि ब्यवस्थापन योजना बनाउँछौँ’ समितिका सचिव सुरकृष्ण वैद्यले भने । नगद, स्वारी, मालपुवा, सेल, हलुवा र मिठाईलगायत आफ्नो क्षमता अनुसारका सामग्री दिएर कन्यापूजा गर्दछन् ।

वैद्यले यो बर्ष अक्षयकोषवाट आएको व्याजको दुई लाख १५ हजार रुपैया खर्च गरेको बताए । वैद्यले यो बर्षको कन्या पुजामा मात्रै ५५ हजारओटा स्वारी दिईएको बताए । पूजाकै समयमा रजस्वला नभएका १० वर्षमुनिका सबै जातका कन्याकेटीहरू बनेपा सहरको दायाँबायाँ लस्करै बस्छन् । बाजागाजासहित पुरोहितको पूजासँगै अन्य स्थानीय व्यक्तिहरूले साथ दिन्छन् । यो पूजामा प्रत्येक वर्ष कन्याहरू बढ्ने क्रम रहेको समितिले जनायो । पूजामा समितिले यो बर्ष दुई लाख १५ हजार खर्च गरेको छ भने करिब दुई सय दाताहरूले स्वतःस्पूmर्त रूपमा खर्च गर्छन् । समितिले पूजाको अवसरमा यो बर्ष मात्रै ७ ओटा स्वारी, तीन ओटाका दरमा मालपुवा र सेल, हलुवा उपलब्ध गराउँछ भने अन्य ब्यवस्था दाताहरूले स्वविवेकले दान गर्दछन् । अन्धविश्वास त्याग्नुपर्छ, सत्यलाई खोज्नुपर्छ र समाजको कन्याहरूमा आत्मविश्वास भर्नुपर्छ भन्ने उदघोषका साथ बर्षेनी यो पूजा हुनेगरेको छ ,स्थानीय समाजसेवी नवराज मानन्धरले बताए ।

यो बर्षमात्रै ४० लाखभन्दा धेरै खर्च कन्या पुजामा गरिएको छ । टाढा टाढावाट श्रद्धालु भक्तजनहरु आउनु भएकाले केहीले खीर र तरकारीको व्यवस्थापन समेत गर्ने गरेका छौ, समुन्द्रकाजी श्रेष्ठले बताए । वि.सं. २००१ सालमा माथिल्लो टोल र तल्लो टोलबीच झगडा भई यो पूजा दुई पटक हुने गरेको हो । पूजाको एक दिन अगाडि ढोल र बाजा बजाएर नगर परिक्रमा गरी पूजाबारे घर—घरका कन्याबारे जानकारी लिएर टिकट प्रदान जानकारी दिने प्रचलन यहाँ छ । पञ्चमीपूजामा बनेपा नेवाः कन्यापूजा समितिले करिब दुई हजार कन्यालाई बनेपामै टिकट प्रथामा यसअघिनै पुजिसकेको छ । बनेपामा हरेक बर्ष देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्या समेतलाई मानवकन्या मानी पूजा गर्ने गरिन्छ ।

नेपाली बृहत् शब्दकोषमा कन्या भन्नाले ‘अविवाहित केटी, कन्ने केटी, विवाहका निम्ति ठीक पारिएकी केटी, दुलही, वेहुली, रजश्वला नभएकी खासगरी दसबर्ष ननाघेकी बालिका’ भनिए पनि कन्या भनेको नारीहरूको काँचो रूप हो । एक शताब्दी नाघिसकेको यो प्रचलनलाई बनेपालीले ठूलो पुण्यकार्यको रूपमा लिएर जोगाएर राखेका छन् । धार्मिक आचरण, मोक्ष, ईश्वरमा लीन हुने र पुनर्जन्ममा रोग, भोक र अभावसंग जुझ्न नपरोस् भन्ने इच्छानै यहाँ बढी देखिन्छ । ४ सय बर्ष पुरानो जात्रा काभे्रपलाञ्चोक ः चारसय बर्ष पुरानो कृष्णाजन्माष्टमीको विशेष जात्रा दाप्चामा शुरुभएको छ ।

पञ्चमीदेखि पाँच दिनसम्म चल्ने यो जात्रा तल्लो हटियामा पाटनबाट आएका विष्णु र विश्वरामले वि.सं.१६६४ सालदेखि र माख्लो हटियामा कालसिंङ नेवारले वि.सं.१९६० देखि जात्रा चल्दै आएको शिलालेखमा उल्ल्खेख छ । सुम्व निसुम्व, महिशासुर, चण्डमुण्ड लगायतका राक्षसले देवताहरुलाई दुख दिएपछि देवीले शरणमा आएकालाई जोगाउन राक्षसको बध गरेको बध गरेको खुशीयालीमा यो जात्रा मनाउने गरिएको छ । जात्रामा नवदुर्गा, गणेश महादेव, पार्वती , विष्णु, लक्ष्मी, वाराही, देवी, भैरव, महाकालीका साथै राजारानी नाँच, कुकुर नाँच, हंशभारत नाच, लाखे नाँच नाच्ने गरिएको छ । जात्रा गर्दा घरपरिवार र शरिरमा भएको कुनै पनि समस्या भए नाश हुने विश्वास गरिन्छ ।

पञ्चमीमा भिमसेन र हिलेजात्रा, षष्ठीमा देवी–भैरव नाँच, सप्तमीमा सामुहिक भोज गरिन्छ भने कृष्णाजन्माष्टमीमा दिनभर ब्रत बसी पूजा र नाचगान गरिन्छ । नवमीको दिनमा कृष्ण जन्मेको खुशीयालीमा अबिर खेल्दै रथजात्रा गरेपछि जात्रा सकिन्छ । तल्लो हटियामा विहान र माख्लो हटियामा दिउँसो रथजात्रा निकाल्ने गरिन्छ ।


तपाईको प्रतिक्रिया