काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मैत्रीपूर्ण सैन्य अभ्यासलाई अन्यथा लिनु नहुने बताउनुभएको छ । बिमस्टेक सम्मेलनको समापनपछि परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सदस्य राष्ट्रका सैन्यकलाको आदानप्रदान हुने सैन्य अभ्यासलाई शंका गर्नु नहुने बताउनुभएको हो ।

‘नेपाल कुनै देशकाबिरुद्ध लक्षित भएर हुने सैन्य गठबन्धनमा सहभागि हुँदैन । नेपालको यो प्रष्ट अडान र नीति छ । यो बिमस्टेक सैन्य अभ्यास कुनै देशबिरुद्ध लक्षित छैन । यो मैत्रीपूर्ण सैन्य अभ्यास हो । यसमा सहभागि हुनेलाई अन्यथा लिनु हुँदैन’ उहाँले भन्नुभयो ।

बिमस्टेक देशका सैन्यबीच भारतमा संयुक्त सैन्य अभ्यास हुँदैछ । त्यसमा नेपालको अवस्थाबारे सोधिएको प्रश्नमा उहाँले कतै लक्षित नभएकोले त्यसलाई अनुचित ढंगबाट नबुझ्न आग्रह गर्नुभएको हो ।

बिमस्टेकको सफल सम्मेलनपछि सार्कको सम्मेलन गर्नेबारेमा नेपाल गम्भीर रहेको र सदस्य राष्ट्रका सरकारहरु बीच छलफल भइरहेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया