काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिनुभएको छ ।

शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले कसैको नाम नलिई शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको हो । प्रहरीले निर्मालाको हत्यामा संलग्न भएको आरोपमा  ४१ वर्षीय दिलिपसिंह बिष्ट, निर्मलाकी साथी  रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरिसकेको छ।

निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरासमेत शंकाको घेरामा छन् । स्थानीयले प्रहरीले विशिष्टका छोरालाई घटनाबाट जोगाउन मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंहलाई दोषी देखाएको आरोप लगाएका छन् ।
बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर केही दिनदेखि कञ्चनपुर तनावग्रस्त छ । नेकपाको बैठकले शान्ति सुरक्षामा खतरा पार्ने घटना भइरहेकाले त्यसप्रकारको घटना हुन नदिन विशेष पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अनुसन्धानलाई व्यापक, विश्वसनिय र प्रभावकारी बनाउने निर्णयसमेत नेकपाको बैठकले गरेको छ । नेकपाले घटनालाई लिएर सामाजिक मूल्य मान्यतामा विकृति भित्रिएको, शान्ति सुरक्षामा खलल पार्ने काम भइरहेको सवालमा सरकार सचेत हुनुपर्ने बताएको छ ।

यस्ता घटनालाई साम्य पार्न जनचेतना तथा जागरण फैलाउन आम रुपमा आग्रह गर्दै बैठकले दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको प्रक्रियामा ल्याउन सरकारलाई आग्रह गरेको हो ।


तपाईको प्रतिक्रिया