काठमाडौं । बिधान मस्यौदा समिति गठनका लागि बोलाएको नेपाली कांग्रेस केन्द्रीय समितिको शुक्रबार बोलाएको बैठक बिवाद भएपछि स्थगित  भएको छ ।  अघिल्लो केन्द्रीय समितिको बैठकको निर्णय कार्यन्वयन गर्ने हो भने अबको २२ दिन भित्र महासमितिको बैठक  बोलाउनु पर्ने हुन्छ ।

गत बैशाख १६ गते बसेको केन्द्रीय कार्य समितिको  बैठकले भदौ मसान्त भित्रै महासमिति भेला आयोजना गर्ने निर्णय गरेको थियो । तर महासमिति भेलामा पेश गरिने संशोधित विधानको मस्यौदा तयार गर्ने मस्यौदा समिति गठनको बिषयलाई लिएर बिबाद भएपछि केन्द्रीय कार्य समिति बैठक स्थगित भएको हो ।

बिहान ११ बजे बोलाइएको बैठकमा असन्तुष्ट नेता रामचन्द्र पौडेलले सहमति विपरित मस्यौदा समितिमा केन्द्रीय कार्यसमितिबाट ११ जनालाई राखिएको र असार पहिलो साता हेटौंडामा भएको सभापति बेलाको सहमति बिपरित जिल्ला सभापतिहरुलाई सहभागी नगराईएको भन्दै आपत्ति जनाएका थिए ।

जिल्ला सभापति भेलाले पास गरेको प्रस्ताव केन्द्रीय कार्य समिति र सभापतिले स्वीकार गरेको र सोही बमोजिम जिल्ला सभापतिको प्रतिनिधित्व गराउन सम्झाउँदा सभापति देउवाले अस्वीकार गर्दा केन्द्रीय कार्य समिति बैठक बस्न नकसेको बताईएको छ ।

सभापति देउवाले जिल्ला सभापतिको प्रतिनिधित्व मस्यौदा समितिमा गराउन मानिरहेका छैनन् । देउवाले जिल्ला सभापतिलाई आमन्त्रित सदस्यको रुपमा मात्र समावेस गर्ने अडान लिएका थिए ।

यसैगरी सभापति देउवाले केन्द्रीय कार्य सम्पादन समितिमा पौडेल गुटलाई ४० प्रतिशत दिएर आफूले ६० प्रतिशत लिने प्रस्तावलाई भने कृष्णप्रसाद सिटौला गुटले अस्वीकार गरेको छ । पौडेल गुटले भने आफूहरुलाई ५० प्रतिशत भाग मागेको स्रोतले जनायो । केन्द्रीय कार्य सम्पादन समितिमा पदाधिकारीबाहेक २२ केन्द्रीय सदस्य मनोनित गर्न पाइन्छ ।

स्रोतका अनुसार सभापति देउवाले अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य भिष्मराज आङदम्वे तथा सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई समावेस गर्ने प्रस्ताव गरेका छन्। समितिमा वाँकी २ जनाको नाम दिन सभापति देउवाले पौडेललाई प्रस्ताव गरेका छन्

यसअघि सभापति देउवाले रमेश रिजालको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति गठन गरेका थिए । समिति संयोजक रिजालले पदबाट राजिनामा दिएपछि समिति नै अलपत्र परेको थियो । समितिले करिव दुई उजुरीमाथि छानबिन गरी प्रतिबेदन तयार पारेको थियो । समिति समक्ष परेका करिव ५ सय उजुरी समेत थन्किएर बसेका छन् ।

अनुशासन समितिमा समेत देउवाले आफ्नो गुटलाई बाहेक गर्न खोजेको भन्दै सिटौलाले पनि सभपाति देउवासँग असहमति जनाएका छन् । सदस्यता वितरणमा समेत सभापति देउवाले पक्षपात गर्दै पुराना क्रियाशिल सदस्यहरुलाई गत महाधिवेशनमा सहयोग नगरेको भन्दै सदस्यता वितरण गरिरहेका छन् । नेता अर्जुननरसिंह केसीले अहिलेदेखि नै सदस्यता वितरणमा पक्षपात भएको वताए ।

महासमिति भेला काठमाडौं, पोखरा वा भैरहवामध्ये एक स्थानमा गर्ने तयारी हुँदैछ । तर, भदौ भित्र महासमिति भेला बोलाईएमा काठमाडौंमै हुने भएको छ

यसैबीच, विधान मस्यौदा समिति गठनमा भएको बिबादका बाबजुद समितिको बैठक शुक्रबार बिहान बसेको छ । समिति बैठकप्रति असहमति राख्दै पौडेल र सिटौला पक्षधर सदस्यहरुले बैठक बहिस्कार गरेपनि बैठकले समितिको काम कारबाहीको लागि पार्टी कार्यालयका सचिवलाई सदस्य सचिव चयन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिमा रहने सदस्यहरुको भागबण्डा नमिल्दा स्थगित भएको केन्द्रीय समितिको बैठक आज पुन बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टीकार्यालय सानेपामा बस्ने  बताइएको छ ।


तपाईको प्रतिक्रिया