काठमाडौं l बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारी प्रायः पूरा भएको छ । शिखर सम्मेलनसम्बन्धी बाँकी काम द्रुत गतिमा भइरहेका छन् भने घोषणापत्र लेखन तथा सम्मेलनका अन्तर्वस्तुलाई पनि टुङ्गोमा पुयाउन युद्धस्तरमा काम भइरहेको छ ।

आगामी मङ्गलबार सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला/विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक, बुधबार परराष्ट्र÷बाह्य मामिला/विदेशमन्त्रीस्तरीय बैठक तथा बिहीबार र शुक्रबार राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेक शिखर सम्मेलन तयारीबारे आज परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भन्नुभयो, “भुटानबाट प्रधानन्यायाधीश, भारत, बङ्गलादेश र थाइल्याण्डबाट प्रधानमन्त्री, म्यान्मा र श्रीलङ्को नेतृत्व राष्ट्रपतिबाट हुने पक्का भएको छ ।”

निर्वाचनका कारण भुटान सरकारका अन्तरिम सल्लाहकारसमेत रहनुभएका प्रधानन्यायाधीशले सम्मेलनमा भाग लिने जानकारी दिँदै उहाँले श्रीलङ्का र म्यान्माका राष्ट्रपतिबाट सम्मेलनकै सिलसिलामा नेपालको द्विपक्षीय भ्रमण हुन लागेको बताउनुभयो ।

म्यान्माका राष्ट्रपति भदौ १२ गते, श्रीलङ्काका राष्ट्रपति भदौ १३ गते राजधानी आइपुग्ने र दुवै देशका विशिष्टि पाहुनाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बङ्गलादेश, थाइल्याण्ड र भारतका प्रधानमन्त्री भदौ १४ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ १४ गते बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै सोही दिन उहाँले दिवाभोजको आयोजना गर्नुहुनेछ तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन साँझ विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज आयोजना गर्ने परराष्ट्रमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्रीले शिखर सम्मेलनको अध्यक्षता गर्नुहुनेछ जसमा पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ । ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ नै बिम्स्टेक शिखर सम्मेलन केन्द्रित हुने बताउँदै मन्त्री ज्ञवालीले सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्गबाट जोड्ने मात्र नभई विद्युत् प्रसारण ग्रिड, अप्टिकल फाइबरबाट जोड् विषयलाई पनि नेपालले उच्च महत्व दिएको जानकारी दिनुभयो ।

सदस्य देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना, दुई दशक पार गरेको सङ्गठनको बडापत्र निर्माण, समग्र बिम्स्टेक क्षेत्रलाई शान्ति, समृिद्ध र दिगोपनातर्फ उन्मुख गराउने तथा गरिबी हटाउने विषय नै सम्मेलनका प्रमुख कार्यसूची हुने मन्त्री ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिम्स्टेकको अध्यक्ष तथा चौथो शिखर सम्मेलन आयोजक देश नेपालले काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने एवं सङ्गठनलाई प्रभावकारी एवं परिणामुखी तुल्याउन तथा सहयोगको दायरा बढाउने विषयलाई पनि उत्तिकै प्राथमिकताका साथ उठाउनेछ ।”

बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतङ्कवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १६ क्षेत्र अब अझ कम हुने र ती जनताको गरिबी घटाउनेमा अधिक केन्द्रित हुने जानकारी मन्त्री ज्ञवालीले दिनुभयो ।

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले २२ वर्षअघि बिम्स्टेक स्थापना भएको हो । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकको यस उपक्षेत्रीय सङ्गठनमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, म्यान्मा, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् ।


तपाईको प्रतिक्रिया