बनेपा, काभ्रे । नेपाल पत्रकार महासंघमा सदस्य रहेका विभिन्न पार्टीका केन्द्रिय सल्लाहकार, जिल्ला पार्टी सभापति, जिल्ला सचिव, क्षेत्रिय सभापति, जिल्ला उपाध्यक्ष, नगर प्रमुखहरु, पार्टीका विभिन्न पदमा रहेकाहरुको सदस्यता नविकरण रोक्का गर्ने निर्णय भएको छ ।

शनिबार २०७५ भदौ २ गते बसेको काभ्रे शाखाको बैठकले उक्त निर्णय गरेको हो । पत्रकार महासंघले सदस्यता शुद्धिकरण गर्ने अभियान चलाउने निर्णय गरे लगत्तै काभ्रे शाखाले उक्त निर्णय गरेको हो । नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, जिल्ला सचिव दिनेश लामा, क्षेत्रिय सभापति रमेशप्रसाद हुमागाई, साविक नेकपा एमालेका उपाध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु, नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिना, साविक नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार दिलसुन्दर श्रेष्ठ, सोहि पार्टीका सुवासकाजी श्रेष्ठ, बैद्य माओवादीका जितबहादुर लामा, विभिन्न पार्टीसँग सम्वन्धित ब्यक्तिहरुको नविकरण रोक्का गर्ने निर्णय भएको हो ।

काभ्रेपलाञ्चोक शाखाले पत्रकार महासंघसलाई विशुद्द पत्रकारहरुको छाता संगठन बनाउन अभियान नै शुरु गरेको हो । निर्वाचनको अवधीलाई ध्यानमा राखेर गरिने नविकरणलाई समेत जिल्ला शाखाले तोड्दै प्रत्येक वर्ष नविकरण गर्ने अभियान शुरु गरेको छ । पत्रकार भएको प्रमाण दिन परिचयपत्र उपलब्ध, प्रेस ज्याकेट, पत्रकारहरुको उपचारका लागि प्राथमिक स्वास्थ्य सामाग्री, अस्पतालमा छुट, संचारमाध्यमहरुको सम्वृद्धीका लागि स्थानीय सरकारसँग समन्वय, पत्रकारहरुको क्षमता विकासका लागि तालिम, गोष्ठी, अन्र्तक्रिया, कार्यालय ब्यस्थित गर्न विशेष अभियान, नियमित कोष, कल्याण कोष, दुर्घटना विमा, फ्रि इन्टरनेट, रजत महोत्सव, स्मारिका प्रकाशन, साधारण सभा सम्पन्न जस्ता महत्वपूर्ण कार्य गरिसकेको छ ।

हरेक वर्षको लेखापरिक्षण, खाताबाट मात्रै कारोवार सञ्चालन, नियमित मासिक बैठक, सदस्यहरुको हितका लागि विशेष कार्यक्रमहरु आयोजना गरिरहेको शाखा अध्यक्ष मोतिराम तिमल्सिनाले बताए । महासंघमा सदस्य भएर पत्रकारिता भन्दा अन्य पेशा धेरै गर्ने सदस्यहरुको सूची समेत हटाउन लागिएको हो ।


तपाईको प्रतिक्रिया