(सुरज श्रेष्ठ) बनेपा । काभ्रे जिल्लामा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजना तथा बनेपा नगर पालिका वडा नं. १२, १३ र १४ को सहयोगमा काभ्रेको साँगामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव प्रसाद केसीले महिला हिंसा र त्यसको अन्त्यकोबारेमा चर्चा गरेका थिए ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एवं एसपी रविराज खड्काले महिला हिंसा विरुद्ध प्रहरी सदैव लागिरहेको बताए । महिला हिंसा विरुद्ध कार्यक्रमले जिल्लामा महिला हिंसाको अन्त्य गर्नमा ठूलो टेवा पुग्ने खड्काले विश्वास व्यक्त गरे ।

त्यसैगरि ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक निमेश चापागाईंले कुनै पनि महिला हिंसाको घट्ना भएमा १०० नं.मा फोन गर्न अनुरोध गरे । उनले प्रहरी सधैं अन्यायको विरुद्धमा रहेको र पिडितलाई न्याय दिलाउन तल्लिन रहने बताए ।
बनेपा इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरिक्षक सुनिलजंग शाहले घरेलु हिंसाको प्रमुख कारण मापसे भएको स्पष्ट पारे ।

एकवर्षमा महिला हिंसाका घट्ना धेरै
मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले जिल्लामा एक वर्ष भित्रमा महिला हिंसाका घट्ना धेरै रहेको बताए । ‘२ सय ६४ घट्ना घटेको छ ।’ उनले भने, ‘८ ओटा घट्ना मात्र पुरुष हिंसाको छ ।’

उनका अनुसार २०५२ सालमा महिला सेल दर्ता भएको बखत २४ ओटा महिला हिंसा सम्बन्धि केस दर्ता भएकोमा हाल आएर १२ हजार केस दर्ता भएको छ । उनले समाजमा महिला हिंसा न्यूनिकरणको दिशामा भएपनि गम्भिर खालको तथ्यांक भएको बताए । महिलाहरुलाई जसरी भएपनि ज्यान जोगाउन अनुरोध गरे ।

कार्यक्रममा तीन वडाका स्थानीय महिला, पुरुष र विद्यार्थीहरुको बाग्लो सहभागीता रहेको थियो ।


तपाईको प्रतिक्रिया