पनौती । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंण्डितले सबै तहका कर्मचारीहरुलाई परेको समस्याको समाधान गर्ने बताएका छन् । नेपालमा ज्यालादारी तथा दर्जा विहिन कर्मचारीहरु समेत रहेकाले तिनीहरुको उचित व्यवस्थापन राज्यले गर्ने बताएका छन् । उनले सब तहका कर्मचारीको समस्या समाधान तर्फ सरकार जिम्मेवार रहेको दावी समेत गरे । मन्त्री पण्डितले सरकार अहिले आर्थिक संकटमा परिरहेकाले कर्मचारीहरुले थोरै तलवमा नै धेरै सेवा दिनु सह्रानिय भएको बताए ।

देश आर्थिक समृद्धिमा लम्केपछि कर्मचारीहरुका लागि राज्यले केही सोच्ने बताए । नेपालका बालबालिका अब्बल तथा खुसी रहेको बताएका छन् । काभ्रेको पनौती नगरपालिका वडा नं १२ कँलाती भुमिडाँडामा बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै मन्त्री पंण्डितले नेपालका बालबालिकाहरुले विकासित मुलुकमा जस्तो सेवा सुविधा नपाएपनि खुसी र अब्बल देखिएको बताएका छन् ।

उनले विश्वका धेरै मुलुकहरुले दिएको जस्तो सेवा र सुविधा नेपालका बालबालिकाले प्राप्त नगरेपनि उनीहरुले समाज र परिवारको अवस्था हेरेर धेरै मागहरु समेत गर्ने नगरेको बताए । उनले प्रदेश नंम्बर ३ कै दोस्रो वालमैत्री वडा घोषणा काभ्रेको पनौती–१२ ले गर्नु गौरवको बिषय भएको समेत बताए ।

‘सधैभरी नकारात्मक नकारात्मक कुराहरु हुँदा नकारात्मक मात्रै हुने भएकाले सकारात्मक कुराहरुमा समेत जोड दिन आवश्यक छ’ मन्त्री पंण्डितले भने । बालबालिकाहरुलाई आवश्यक पर्ने खोप, गर्भवती महिलाहरुले पाउनु पर्ने हरेक पोषण, चर्पी गएपछि र खाना खानुभन्दा अघि बालबालिकाले हातधुने बानीको विकास, पाँच बर्षमुनीका बालबालिका सबैको अनिवार्य जन्मदर्ता, बालबिबाहमा कमी, बालिकालाई हुने हिंसाको कमी, बाल संरक्षण प्रणालीको संचालन भएपछि मात्रै बालमैत्री वडा घोषणा हुने मापदण्ड अनुसार पनौती नपा–१२ बालमैत्री वडा घोषणा भएको हो ।

कार्यक्रममा बोल्दै पनौती नपाका मेयर भिम न्यौपानेले बालअधिकारका चार सूचकहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागितासँगै संस्थागत सूचकहरु पुरा भएपछि बालमैत्री वडा घोषणा भएका बताए ।

प्रदेश सभा सांसद बसुन्धरा हुँमागाईले पनौती–१२ बालमैत्री वडा घोषणा हुनु गर्वको बिषय भएको भन्दै सूचकहरुलाई निरन्तर पुरा गर्न वडा लाग्नेमा आशा व्यक्त गरे । कार्यक्रममा बोल्दै मण्डन देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईवा, पूर्व सांसद रामहरि सुवेदी मन्तव्य राखेका थिए ।

प्रदेश नंम्बर ३ मा पनौती–१२ दोस्रो वालमैत्री बडा भएको वडाअध्यक्ष ईश्वराज जंगमले बताए । उनकै सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विष्णुप्रसाद चैव र बाल समुहको अध्यक्ष ललिता तामाङले मन्तव्य राखेका थिए ।


तपाईको प्रतिक्रिया