किरण थापा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा अस्थायी रुपमा बनाईएको विद्यालयमा विद्यार्थीहरु पढ्न बाध्य रहेका छन् । भूकम्पले क्षति पुर्याएका विद्यालयको पुनर्निर्माणको काम निकै सुस्त भएको छ । तीन वर्ष्भित्रै सबै विद्यालय भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य निर्धारण गरिएकोमा हालसम्म १६१ विद्यालयको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पमा जिललाका ५४७ विद्यालय ध्वस्त भएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार जिल्लाका विभिन्न ६४ विद्यालय भवन विद्यालय व्यवस्थापन समितिमार्फत नै निर्माण सम्पन्न भएका हुन् । ९७ विद्यालय भवन अन्तराष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाले निर्माण गरेका हुन् भने अन्य विद्यानय दातृ निकायहरुले बनाइदिएका हुन् ।

एसियाली विकास बैंकको सहयोगमा ३७ बढी विद्यालयहरु निर्माणाधिन अवस्थामा छन् । सम्बन्धित विद्यालय व्यवस्थापन समिति मार्फत १ सय ४२ विद्यालयका भवन निर्माणाधिन अवस्थामा छन् । गैरसरकारी संस्थाहरुले निर्माण गर्ने १ सय ३१ विद्यालय भवन मध्ये ३४ विद्यालय भवन निर्माणको क्रममा छन् । निर्माण व्यवसायी मार्फत पुनर्निर्माण हुनुपर्ने ३८ विद्यालयका भवनहरु भने कुनैपनि निर्माण सम्पन्न हुन सकेका छैनन् । निर्माणको जिम्मा लिएका व्यावसायीहरुको ढिलासुस्तीका कारण भुकम्पमा ध्वस्त भएका विद्यालय भवनहरु निर्माणमा सुस्तता आएकोे छ ।

समयमै विद्यालयको भवन पुननिर्माणमा नहुँदा विद्यार्थीहरु विनाशकारी भूकम्पको तिन वर्षसम्म पनि अस्थायी टहरोमा बसेर अध्ययन गर्न बाध्य छन् । तत्कालीन जिल्ला शिक्षा कार्यालयको समन्वयमा शिक्षा विभाग, लगायत विभिन्न संघ संस्थाहरुले भूकम्पमा क्षेती भएका विद्यालयहरु पुननिर्माण गर्नै जिम्मा लिएका थिए ।

भूकम्पको तीन वर्ष बितिसक्दा पनि २५ विद्यालयका भवन भने निर्माण सुरु नै भएका छैनन् । आफ्नो स्वामित्वका जग्गा जमिन नभएका तथा न्युन विद्यार्थी संख्या भई मर्जको तयारीमा रहेका विभिन्न २५ विद्यालयका भवनहरु भने निर्माण सुरु नै नभएको जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जिनियर शेरबहादुर पुजाराले बताउनुभयो । आगामी दुई वर्ष्भित्र भूकम्पमा ध्वस्त सबै विद्यालय भवनहरु पुनर्निर्माण सम्पन्न भइसक्ने इन्जिनियर पुजाराले बताउनुभयो ।


तपाईको प्रतिक्रिया