काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–३ मा पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भएको छैन ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहका अनुसार एक जनाको जीवितै उद्दार गरिएको छ । लालबहादुर द्वारको सकुशल उद्दार गरिएको उनले बताए ।

उनकी श्रीमति र बच्चाको भने ज्यान गएको उनले बताए । घरमा रहेका बाँकी दुई जनाको पनि मृत्यु भइसकेको उनले बताए ।

‘बाँकी दुई जनाको पनि मृत अवस्थामा शरीर देखेका छौं । शवलाई निकाल्ने काम भइरहेको छ’, डिएसपी सिंहले अनलाइनखबरसँग भने, ‘अर्को एउटा घर पनि पुरिएको छ । त्यहाँ पनि उद्दार टोली खटिएको छ ।’

हाल उनीहरुको उद्दारका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र सेनाको टोली खटिएको बताइएको छ ।


तपाईको प्रतिक्रिया