काठमाडौं। कञ्चनपुर जिल्लाको भीमदत्तनगरपालिका वार्ड नं २ कि बालिका निर्मला पन्तलार्इ बलात्कार पछि हत्या भएकाे घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाहीकाे दायरामा ल्याउन खानेपानी मन्त्री विना मगरकाे नेतृत्वमा अाज गृहमन्त्रीलार्इ ज्ञापनपत्र बुझाउनु भएकाे छ ।

मन्त्री मगर कञ्चनपुर जिल्ला क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन । हत्यामा संलग्न अपराधी पक्राउ नपरेको र पीडितले न्याय नपाउने र अनावश्यक रुपमा घटनाको राजनीतिकरण हुने अवस्था सिर्जना भएको भन्दै ज्ञापनपत्रमा प्रहरी अनुसन्धानलाई तीब्रता दिन माग गरिएको छ ।

गृहमन्त्रीसँग भेटका अवसरमा प्रतिनिधिहरुले प्रदेश नम्बर ७ मा अपराधिक घटनाहरु श्रृंखलाबद्धरुपमा बढ्दै गएको उल्लेख गर्दै पीडित परिवारको संवेदनालाई राजनीतिकरण गर्ने तत्वहरु सक्रिय भएको बताएका थिए । घटनामा प्रहरीले समयमा नै चासो दिएपनि अनुसन्धानले गति भने लिन नसकेको बताउँदै तत्काल शान्ति सुरक्षाको अवस्था मजबूत गर्न समेत माग गरेका थिए ।

स्थानीयस्तरमा पीडित परिवारलाई मुआब्जा र सहयोगका लागि पहल भइरहेको र सरकारका तर्फबाट समेत शोकमा परेको परिवारलाई सहयोगका लागि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझाउन खानेपानी मन्त्री बीना मगर, कञ्चनपुर जिल्ला क्षेत्र नं। २ का प्रतिनिधि सभा सांसद दीपक प्रकाश भट्ट, प्रतिनिधि सभा सदस्य सांसद निरु पाल, क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य नर बहादुर धामी, पूर्व सभासद, टिकेन्द्र भट्ट, पूर्व सभासद कृपा राना पूर्व नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक बीर बहादुर थापा पातल, नेकपा नेता अक्कल बिष्ट, जिसस प्रमुख फैरु तामाङ, संघीय जनसम्पर्क मञ्च सल्लाहकार परिषद संयोजक गोकर्ण भट्ट, कमला बोहरा, अनेरास्ववियू सचिवालय सदस्य मर्यादा विष्ट, भीम भट्ट, शन्कर भट्ट वडा सदस्य बेल्डाडी लगायतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया