बनेपा । पूर्वाधारको अभाव, अत्यावश्यक सेवा र सुविधाको अभावमा समेत नगरपालिका घोषण भएपछि कसरी नगरपालिका संचालन होला भनेर मण्डन देउपुरबासीले सोचेका थिए । तर मण्डन देउपुर नगरका मेयर टोकबहादुर वाईवाको सकृयतामा पूर्वाधार विकास तथा सहयोगहरु निरन्तर आँउदा समृद्धि तर्फ अगाडी बढिरहेको छ । काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा कान्छो नगरपालिका मण्डन देउपुरका मेयर टोकबहादुर वाईवाको सकृयतामा नगरलाई चीन सरकारले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल चीन हिमालय मैत्री समाज मार्फत चीन सरकारले मण्डन देउपुर नगरपालिकासँगै विभिन्न जिल्लाका स्थानीय निकायलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

काभ्रेको कान्छो नगरले एम्बुलेन्स आवश्यकताको माग गरेको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै उप–प्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले हरेक नागरिकलाई आधारभुत रुपमा स्वास्थ्य सेवा दिनको लागि स्वास्थ्य क्षेत्रलाई सुधार गरिन लागिएको बताए । मन्त्री यादवले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल विस्तार गरिने उनले बताए । स्थानीय तहमा अस्पताल आफैले बनाउने गृहकार्य समेत सुरु गरेको मन्त्री यादवले बताए ।

एम्बुलेन्स हस्तान्तरणमा बोल्दै नेपालका लागि चीनकी राजदुत यु होङ्गले नेपाल सरकारलाई स्वास्थ्य लगायतका अन्य क्षेत्रमा सहयोग गर्न चीन सरकार तयार रहेको बताईन् । मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले एम्बुलेन्सको सदुपयोग हुने बताए । मण्डन देउपुर नगरपालिकामा प्राप्त भएको यो पहिलो एम्बुलेन्स हो । यस अघि नेपाल रेडक्रस सोसाईटीले महादेवस्थानमा, उपस्वास्थ्यचौकी गैरिबिसौनावाट एम्बुलेन्स सेवा दिदै आएको थियो ।


तपाईको प्रतिक्रिया