धुलिखेल । काभ्रे जिल्लाको पनौती नगरपालिका–७, बस्ने ५८ बर्षीया तीलकुमारी देउजाको हत्या गरी लुट्नेहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत महिनाको २० गते राति देउजाको हत्या गरी नगद र गहना लुट्ने रामेछाप खाडादेवी गाउँपालिका – ७, बस्ने राज बहादुर थामी र सिन्धुपाल्चोक सुनखानी–७, का सन्तोष थामीलाई २१ दिनपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार घटनाको दिन दुवै जना थामीले देउजासँगै बसेर भट्टीमा रक्सी खाएका थिए । केही समयपछि देउजा सुत्न गइन् । राज बहादुर र सन्तोषले पुनः रक्सी खाँदै देउजालाई हत्या गरेर नगद तथा सुनका गहना लुट्ने योजना बनाएको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले राजबहादुर र सन्तोषले देउजाको हत्या गरेको पुष्टि गर्नुभयो । हत्या गरेर भाग्दै गरेका राजबहादुर र सन्तोष देउजाकै घरमा भएको मोटरसाइकल लिएर भागेका थिए । भाग्दै गरेको अवस्थामा नियमित चेकिङको क्रममा साँगा चौकीले राजबहादुरलाई पक्रन सफल भए पनि सन्तोष भने फरार भए । सन्तोषलाई पनि महानगरिय वृत बालाजुले पक्राउ गरेपछि बुधबार प्रहरीले पत्रकार सम्मेलन नै गरेर उनीहरुलाई सार्वजनिक गरेको थियो ।

इलाका प्रहरी कार्यालय बनेपा अन्र्तगत मुद्धा चलाइएका दुवैलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धा लगाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया