बनेपा । बनेपा नालाका एक स्थानीयको भदौं ४ गते ढलानको तयारीमा थिए । ढलानको लागि आवश्यक रहेको बालुवा बोक्ने जिम्मेवारी उनले यसअघि सामान ल्याउने गरेको टिपर चालकलाई जिम्मा लगाएका थिए । अघिल्लो साँझसम्म बिहान ६ बजेनै बालुवा झारिदिने भनेका चालकको भरमा परेका उनी वालुवा आउने भनेर अरु निर्माण सामाग्रीको जोहो गर्न तिरे लागे । तर एकाबिहानै पाँचखालमा गाडी फसेको भन्दै चाकलको फोन आएपछि उनी छाँगावाट खसेजस्तै बने । अघिल्लो पटक २६ हजारमै बालुवा झारेका उनले ढलानको लागि आवश्यक रहेको बालुवा टिपकै ३४ हजार तिरे ।

नियमित रुपमा निर्माण सामाग्री लाने टिपरको विश्वासमा उनलाई ठगिएको उनले आफू टिपर चालकको भरमा परेर समस्यामा परेको बताए । उनले टिपर चालकको नाम र टिपरको नंम्बर भने खुलाउन चाहेनन् । उनले नयाँ घर बनाउन चाहने र निर्माण सामाग्री आवश्यक रहेको समयमा पहिलेनै जोहो नगरे ठूलो समस्यामा पर्ने बताए । सुरुमा भनेकै मूल्यमा सामान झारिदिने टिपरहरुले अत्यावश्यक समयमा नाटक गरेर धेरै रकम लिने गरेको उनके आरोप छ । उनी सुनाउँछन यसको अन्तिम समाधान भनेको टिपरहरुले सामान ढुवानी गर्दा मूल्यमा एकरुपता ल्याउनु पर्छ । अनि मात्रै हामीजस्ता सर्वसाधारण नठगिन सक्छन् ।
निर्माण सामाग्रीहरु विशेषत बालुवा,रोडा,ढुंगाको मूल्य निर्धारण हुन नसक्दा सर्वसाधारण ठगिनेक्रम बढेको छ । निर्माण सामाग्रीको ढुवानी गर्ने टिपर तथा ट्रकहरुले भनेको जतिको मूल्यमा निर्माण सामाग्री किन्नुपर्दा उपभोक्ताले ठगिएको महसुस समेत गर्न थालेका छन् ।

राजधानी लाने सामानमा मात्रै नभएर काभ्रेकै बनेपा,धुलिखेल र पनौतीमा समेत उनीहरुको फरक फरक खालको मूल्य तिर्ने गरेका छन् । क्रसर संचालकहरुले टिपरले धेरै नाफा खाने गरेको आरोप लगाउँदा टिपर संचालकहरु भने आफूहरुलाई फाईदानै नहुने बताउँछन् । एक टिपर वालुवा क्रसरमा १३ हजार रुपैया पर्छ । १ हजार ५० कर तिर्ने उनीहरुले महादेवस्थानमा ३ सय ४० रुपैया सडक स्तरोन्नती कर, ५० रुपैया सडक कर तिर्ने गरेका छन् । एक टिप गरे वापत चालकलाई एक हजार पाँच सय भत्ता दिदा बनेपासम्म लगेको २७ हजार रुपैया लिने गरेका छन् । अझ समस्या परेको समयमा ३० हजार समेत उनीहरुले लिने गरेका छन् । यसमा करिब उनीहरुले सिधै १० हजारसम्म एक टिपमै कमाउँछन् ।

सामान्यतया,सामान ढुवानीमा लामो तथा छोटो दुरीमा कुनै पनि दर रेट कायम नहुँदा उपभोक्ता ठगिनेक्रम रोकिएको छैन । काठमाण्डौमा लगेको कुनै पनि दररेट समेत छैन । कोटेश्वरभन्दा उता लगेको ३१ हजारदेखि ४० हजारसम्म प्रति टिपरले वालुवाको लिने गरेका उनीहरुले गिटीको २७ हजार भन्दा धेरै लिने गरेका छन् । यसमा अझैसम्म कुनै पनि निकायले अनुगमन गर्न सकेको छैन । काभ्रेवाट मात्रै १ हजार टिप निर्माण सामाग्री दैनिक काठमाण्डौं जाने गरेको छ । त्यसमा अनुगमन अहिलेसम्म भएको छैन ।

टिपरहरुको कुनै पनि दररेट कायम नहुँदा आम उपभोक्ता ठगी रहेका छन् । क्रसरवाट किनेर ल्याएको सामानको तेब्बर मूल्यमा बेचिरहँदा कसैले केही बोल्न सकेको छैन । यसका लागि अनुगमनको आवश्यकता रहेको बताउने धेरै रहेका छन् । तर क्रसरवाट सामान लोड गरेपछि अघोािषत रुपमा सडक सडकमा संचालन भएका डिपोमा माल खसालेर कम सामान लानेदेखि लिएर चर्काे मूल्य लिने टिपरवालाहरुलाई अनुगमन तथा कारवाही समेत हुन सकेको छैन ।

स्थानीयबासीन्दा अरु सामान ढुवानी गरेको जस्तै निर्माण सामाग्रीको ढुवानीमा समेत दर रेट कायम गर्न आवश्यक रहेको बताउँछन् । उनीहरुको मागनै अब निर्माण सामाग्रीको ढुवानी गर्ने टिपरहरुमा समेत रेट कायम गर्नुपर्छ भन्ने रहेको छ ।
टिपरको कारण सर्वसाधारणले ढुवानीमा मात्रै ठगिएका छैनन् धेरै समस्याहरु समेत देखा पर्नै थालेका छन् । टिपरवालाहरु आफूहरुले कर तिरेर सवारी चलाएको दावी गरेपनि टिपरकै कारण सडकको अवस्था कमजोर बनेको छ । काभ्रेका अरनिको र विपी राजमार्गसँगै ग्रामीण सडकहरुको अवस्था निरन्तर कमजोर बनिरहेको छ । तर सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन् ।

कुनै समस्या पर्ला भनेर संगठित हुनको लागि टिपर व्यवसायीहरुको संगठन पनि रहेको छ । तर संगठनले समेत ढुवानी गरेको भाडादर तोक्न सकेको छैन । टिपर धनीहरु घाटा हुने दावी गरेपनि बर्षैपिच्छे सयौको संख्यामा टिपरहरुको संख्या बढीरहेको छ । तर पनि उपभोक्ता भने निरन्तर ठगिनेक्रम रोकिएको छैन ।


तपाईको प्रतिक्रिया