बनेपा । निर्माण सामाग्री बोक्ने अत्याधिक भारवहन क्षमता भएका ट्रिपरलाई साँझ ८ बजेपछि मात्रै काठमाण्डौं उपत्यका छिर्न दिने सरकारी निर्णयले काभ्रेमा भने आंतक सृजना गरेको छ ।

काभ्रे भएर दैनिक संयौको संख्यामा ट्रिपर गुड्ने गरेका छन् । साँझ ८ बजेको समय सिमा निर्धारण गरेपछि प्रहरीले काभ्रेको काभ्रेभज्याङ, हिगुवापाटी, पाँचखाल, बनेपा, खावामै टिपरहरु रोक्ने गरेको छ । जसको कारण एकै पटक टिपरहरु सडकमा आएपछि ट्राफिक जामसँगै एक प्रकारको आंतकनै सृजना हुने गरेको छ ।

काठमाण्डौं उपत्यकाका तीन जिल्लामा भित्रने ट्रिपरलाइ ट्राफिक प्रहरीले ठाँउठाँउमा रोक्दै अन्तिममा बनेपामानै रोक्ने गरेको छ । निमार्ण सामाग्री बोकेर सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकबाट राजधानी भित्रने टिपरहरुलाइ बनेपामा नै रोकिने गरेको ट्राफिक प्रमुख निशेष चापागाइले बताए ।

साउन १ गतेबाट राती ८ बजे देखि विहान ५ वजे सम्म मात्रै चल्न दिने उपत्यका प्रशासनको निर्णय पछि रातको समय राजधानी भित्रने टिपरको चाप अत्याधिक हुदा यिनीहरुको व्यवस्थापनमा केहि कठिनाइ भएको प्रहरी सहायक निरिक्षक भिमसेन विक्रम थापाले बताए । काभ्रेबाट दैनिक १ हजार ४ सय भन्दा बढि टिपरहरु राजधानी भित्रने गरेका छन् ।

काभ्रेमा टिपरले दैनिक दुर्घटना बढाएपछि प्रहरीले टाइम कार्डको व्यवस्था समेत गरेको थियो । टाइम कार्ड लागु गरेपछि दुर्घटना समेत न्यूनिकरण हुदै आएको प्रहरीको तथ्याङकले देखाउछ । राजमार्ग आसपासका स्थानीययहरुले भने राती टिपरका कारण सुत्न नै नपाइने, होहल्ला बढि हुने र प्रेसर हर्नले समस्यामा परेको बताएका छन् ।


तपाईको प्रतिक्रिया