बनेपा । मौलिक नेपाली कला र संस्कृतिले राष्ट्रिय एकता बलियो बनाएको संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले बताएका छन् ।


नृत्य निर्देशक संघ नेपाल काभ्रेले बनेपामा आयोजना गरेको ‘३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सवलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री बास्कोटाले सम्बोधन गर्दै थपे ‘कला समृद्ध राष्ट्र सुखी नेपाली निर्माणका लागी वर्तमान सरकारले कला क्षेत्रको संरक्षणका लागी आवश्यक बजेट छुट्टाइएको छ । हामी संसार कै कला संस्कृतिको धनी मुलुक हौ, यसको संरक्षण र सम्वद्र्धनमा सरकारले साथ दिने छ र नृत्य दिवसलाई राष्ट्रिय मान्यता दिन सरकार सकारात्मक रहेकोछ ।’ उनले सुखी नेपाली समृद्ध नेपालको नारा सहित सरकार आम नागरिकमा बर्षांैदेखी देखिएका निराशाको अन्त्य गर्ने महान अभियान लिएर अगाडी बढेको बताए ।


कार्यक्रममा प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले नृत्य मनोरञ्जनको मात्र साधन नभएर राष्ट्रको पहिचान समेत भएकोले यसको संरक्षण र समद्र्धन गर्नु सरकारको दायित्व भएको बताए । उनले जिल्लाका कला र संस्कृति संरक्षण सम्बद्र्धनमा समेत प्रदेश सरकार लागिपर्ने बताए । त्यस्तै बनेपाा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले कला संस्कृतिको संरक्षणमा बनेपा नगरपालिका सदैव साथ रहेको बताए । स्थानीय कला र संस्कृतिले नै पहिचान जोगाइराख्ने समेत बादेले बताए । यस्तै नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भूवनदास श्रेष्ठले अन्तरराष्ट्रिय नृत्य दिवस मनाउन बाध्य हामी नेपाली नृत्यकार कलाकारहरुको आफ्नै राष्ट्रिय नृत्य दिवसको मान्यताका लागि सरकारलाई आग्रह गरे ।


नृत्य निर्देशक संघ नेपाल काभ्रेका अध्यक्ष मोहन तौजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ३ नं. प्रदेशभित्रका प्रतिनिधिमूलक मौलिक लोक नृत्यहरु प्रस्तुत गरिएको थियो । ८ वटा जिल्लाको प्रत्यक्ष सहभागिता रहेको महोत्सवमा अष्ट भैरव, भैरव काली, छलिया, कौरा, नेवारी तामाङ सेलो, झोरा, धिमाल, झ्याउरे, कत्थक लगायतका आकर्षक नृत्यहरुले दर्शकहरुलाई लोभ्याएका थिए ।
बनेपा नगरपालिकाका मेयरले नगरको द्वार खोलेर झाँकी सहित नगर परिक्रमा गरी बनेपाका चार वटा डबलीहरुमा समेत नृत्यहरु प्रस्तुत गरिएको थियो । डबली नृत्यको उद्घाटन प्रदेश सभाषद बसुन्धरा हुमागाइले गरेका थिए भने बृत महोत्सवको उदेघाटन मन्त्री बास्कोटाले गरेका थिए ।


नेपालको इतिहासमा नै पहिलो पटक प्रदेश भित्रका मौलिक संस्कृति एकापसमा साटासाट गर्ने तथा मौलिक कला संस्कृतिको पहिचान तथा प्रचार प्रसार गर्ने उद्धेश्यले आयोजित ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सबमा अतिथिहरुलाई स्थानीयबासीहरुले तोरण, टिका र सगुन सहित स्वागत गरेका थिए । कार्यक्रम संस्थाका सचिव अमरकृष्ण चन्दको संचालनमा सम्पन्न भएको थियो ।


तपाईको प्रतिक्रिया