(केशवराज पौडेल)  काभ्रेपलाञ्चोक । नगरकोटको डाँडामुनीदेखि दोलालघाटसम्मको चार मण्डन र तीन देउपुरका सात गाँउभरीकी एक्ली लेडी ईलेक्ट्रिसिएन तुलसी आचार्यको चर्चा छ । भुकम्पपछिको पुनः निर्माणमा सकृय सात गाँउका स्थानीय आचार्यको कामदेखि औधी प्रभावित छन् । पुरुष ईलेक्ट्रिसिएनले समयमै काम नगरि दिएर दिक्काएका स्थानीय लेडी ईलेक्ट्रिसिएन आचार्यको कामदेखि औधी प्रभावित बनेका छन् । हुन पनि साविक सात गाविसमा एकजनापनि लेडी ईलेक्ट्रिसिएन’ थिएनन् ।

उनीकै उमेरका किशोरीहरु मोबाईलमा फेसबुक चलाईरहँदा उनी हतौडा ठोकिरहेको भेट्टिछिन् । ढलान गरिने घरहरुमा पाईप लाईनवाट करेन्टको विस्तार, बिजुलीको तार राख्ने र होल्डरहरु मिलाउने काम बिहानैदेखि आचार्यले गरिरहेकी हुन्छिन् । अघिल्लो बर्षसम्म पढाई खर्च जुटाउन मेलापातमा सकृय हुने मण्डन देउपुर–२ धाईटारकी १९ बर्षियाआचार्य यतिबेला घरमा वाईरिङ र ढलानमा लाईन मिलाउन पाईप बिछ्याउने कार्यमा व्यस्तै छिन् । दिदी बहिनी र एक दाजुकी कान्छी छोरी तुलसामा कामप्रतिको औधी लगाव छ ।

गाँउदेखि शहरसम्म सिलाईबुनाईको तालिम लिने महिलाले र ईलेक्ट्रिसिएनको तालिम पुरुषले मात्रै लिने भन्ने मान्यतालाई आचार्यले सातगाँउमै पहिलो पटक तोडेके हुन् । ‘सामान्यतया ईलेक्ट्रिसिएन पुरुषले गर्ने काम भनिन्थ्यो तर मैले तालिम लिएर काम समेत सुरु गरिसकेको छु’ आचार्यले सुनाईन् । ‘महिलाहरुले सामान्य ईलेक्ट्रिसिएनको तालिममात्रै लिन सक्दछन् भन्ने मान्यतामा बिल्डिङ ईलेक्ट्रिसिएनको तालिममा मौका पाउनु सौभाग्यको कुरा भएकाले मैले अवसरको प्रयोग गरे’ आचार्यले निर्धक्कसँग बताईन् ।

‘खेतीपातीको मेलापातमा जाँदा पुरुष र महिलालाई विभेद हुने हुन्थ्यो, बिहानदेखि बेलुकासम्म काम गर्दा ७ सय पाईन्थ्यो अहिले दैनिक दुई हजार कमाउने भएको छु ।’ १९ बर्षिया आचार्य सातगाँउकै घरहरुमा बिल्डिङ ईलेक्ट्रिसिएनको काम थालेकी छिन् । सुरु सुरुमा केटीहरुले के ईलेक्ट्रिसिएनको काम गर्लान् र भन्थे अहिले सबैले विश्वास गरेर काम लगाउन थालेका छन्, आचार्यले सुनाईन् ।

उनलाई पछिल्लो समय ईलेक्ट्रिसिएनको लागि घरको ठेक्कानै जिम्मेवारी दिन थालेपछि उनको भाउजुले समेत उनको काममा सहयोग गरिरहेका छन् । नन्द भाउजु मिलेर एक दर्जनभन्दा धेरै घरहरुमा उनीहरुले ईलेक्ट्रिसिएनको काम सकेर सबैको मन जितेका छन् । उनले ईलेक्ट्रिसिएनको तालिम लिए लगत्तै सिटिईभिटीले दिने स्किल टेष्ट १ पुरा गरेर प्रमाणपत्र समेत लिई सकेकी छिन् । अब थप सिप सिकेर दोस्रो तहको प्रमाणपत्र लिने सोच उनले बनाएकी छिन् ।

उनले ईलेक्ट्रिसिएनको सिप सिकेसँगै मण्डन देउपुरमा अरु महिलाहरुले समेत ईलेक्ट्रिसिएनको सिप सिक्ने योजना बनाउन थालेका छन् । आफ्नो वडाका महिलाहरुले जिवनपयोगी सिप लिन चाहेमा आफूहरुले त्यसको व्यवस्थापनमा कुनै असर नराख्ने मण्डन देउपुर नगरपालिका वडा नं ८ सदस्य सूर्य राईले बताए ।
‘महिलाको लागि तालिम भन्ने वित्तिकै सिलाईबुनाईमात्रै रहेनछ,तुलसीबैनीले सबैको उदाहरण बन्नु भएको छ’ सदस्य राईले भने । ‘अब महिलाहरुको आयआर्जन गराउने काममा निरन्तर सहयोग पुयाउने छौं ।’


तपाईको प्रतिक्रिया