(केशवराज पौडेल) काभ्रेपलाञ्चोक । खानेपानीको अभाव रहेको काभ्रेको मण्डन देउपुर–५ देविस्थानमा शुक्रवार र शनिवार बर्षादमा परेको पानी खुवाउँदा पशुहरु मर्न थालेका छन् । विगतदेखिनै बर्षादको पानी संकलन गरेर पशुलाई खुवाउने गरेका स्थानीय कृषकहरुले शुक्रवार र शनिवार परेको बर्षादको पानी संकलन गरेर पशुहरुलाई खुवाएसँगै पशुहरु मर्न थालेको मण्डन देउपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष नेत्रप्रसाद ढकालले बताए ।

बर्षादमा परेको धमिलो पानी खुवाएका किसानहरुले पालेको पशुहरु झोक्राउने समस्या सुरु भएको वडाध्यक्ष ढकालले बताए । उनले स्थानी किसान नारायण श्रेष्ठले पालेको तीनओटा भैसीमा धेरै असर पारेको बताए । धमिलो पानी खुवाए लगत्तै उनको लाखौं रुपैया पर्ने माउ भैसी मरेको र अन्य भैसीहरुमा समेत बेहोस अवस्थामा रहेको बताए । धमिलो पानी खुवाएर भैसी मरेपछि स्थानीय पशुपालक किसानहरु चिन्तामा परेका छन् । बर्षाैदेखि बर्षादको पानी खुवाउने गरेको भएपनि शुक्रवार धमिलो पानी परेपछि त्यही पानी खुवाउँदा आफूले पालेको भैसी मरेको कृषक नारायण श्रेष्ठले बताए ।

धमिलो पानी खुवाएर पशुहरु मर्ने र झोक्राउन थालेपछि मण्डन देउपुर नगरपालिकाले आकाशवाट परेको बर्षादको पानी नखुवाउन सबै पशुपालक किसानहरुलाइ अनुरोध गरेको छ । काभ्रेमा दुध उत्पादनको पकेट क्षेत्र मानिने मण्डन देउपुरमा थप पशुमा समस्या नआओस् भनेर नगरले तत्कालै प्रावधिक टोली खटाएको हो ।
पशुहरुमा समस्या आएलगत्तै नगरपालिकाले पशु प्राविधिक चिरञ्जिवी शर्माको नेतृत्वमा टोली खटाएर भैसी मरेको कारण पत्ता लगाउँदै उपचारको निम्ति खटाएको थियो । उनको टोलीले बर्षादमा परेको धमिलो पानी खुवाएको कारणले भैसी मरेको बताएका थिए । धमिलो पानी पनि मुख्य कारण हो तर अरु कारण के हो त्यसको पत्ता लगाउँदै छौ, प्राविधिक शर्माले भने । उनले आफू पुग्दा गर्भवती भैसी मरिसकेको र बिरामी अवस्थामा रहेको दुईओटा भैसीको उपचार सुरु गरेको बताए ।

बिरामी अवस्थामा रहेको पशुहरुको अवस्था हेर्दा दुषित खानेकुरा र पानी खाएको कारणले देखिएको शर्माले बताए । उनले जिल्ला पशु सेवा कार्यालय काभ्रेसँग समन्वय गरेर त्यसको कारण पत्ता लगाउने बताए । उनले केही पशुहरुमा तत्कालै ठूलो असर पारेको धेरै पशुहरुमा धेरै असर नपारेको बताए । उनले धमिलो पानी नखुवाउन सबै किसानलाई अनुरोध गरेको बताए । तर अहिलेसम्म नगरले पानीमा के तत्व भएको कारणले भैसी मरेको हो त्यसको पहिचान गर्नको पहल गरिरहेको बताए । धमिलो पानीले मानव स्वास्थ्यमा समेत गम्भिर असर पार्ने भएकाले त्यसको प्रयोग नगर्न चिकित्सकले सुझाव दिएका छन् । धमिलो पानीले शरिरको छालामा तत्कालै असर पार्ने भएकाले त्यसको प्रयोग नगर्न विज्ञहरुले सुझाव दिएका हुन् । शहर तथा गाँउमा बर्षादको पानी पुनः प्रयोगमात्रै नभएर प्रशोधन गरेर खानेपानीको रुपमा समेत प्रयोग गरिने परम्परा सुरु भएकाले धमिलो पानीको प्रयोग नगर्न चिकित्सकले आब्हान गरेका छन् ।


तपाईको प्रतिक्रिया