धुलिखेल ।  काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले टोल टोलमा प्रहरी अभियान सुरु गरेको छ । सामुदायिक प्रहरी सेवालाई अझ प्रभावकारी रुपबाट अगाडी बढाउन टोल टोलमा प्रहरी अभियान असार महिनाभर सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले जनाए ।

जनताको घरदैलोमा पुगेर प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान गर्ने, सामुदायिक प्रहरी सेवाको माध्यमबाट समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने, जनता र प्रहरी बिचको दुरी कम गरी विश्वास अभिबृद्धि गर्ने, भयरहित, शान्तिपूर्ण र सुरक्षित सामाजको स्थापना गर्ने अभियानको लक्ष्य र उद्देश्य रहेको छ ।  टोल टोलमा प्रहरीको १ महिने अभियान आज असार १ गते पत्रकारसँग अन्र्तक्रिया गरेर सुरु भएको छ । कार्यलयबाट प्राप्त जानकारी अनुसार विभिन्न चरण अन्र्तगतको अभियानमा असार ७ गतेदेखि १० गतेसम्म अभियानको बारेमा प्रचार प्रसार गरिनेछ । जिल्लाको मातहतमा रहेका भिडभाड हुने स्थलहरुमा जस्तै बनेपा, धुलिखेल, पनौती बसपार्क र अन्य चोकहरुमा पर्चा, पम्पलेट बितरणका साथै माईकिङ मार्फत प्रचार प्रसार गरिनेछ । ट्राफिक नियम, घरेलु हिंसा, मानव बेचबिखन तथा ओसार पसार, लागु औषध, धुम्रपान, मद्यपान, सामाजिक अपराध, साईबर अपराध तथा बालबिबाह रोकथाम जस्ता विषयमा जिल्लाको वडा क्षेत्रमा रहेका स्कुल तथा कलेजमा सम्पर्क कार्यक्रम असार १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै गरि असार १५ गतेदेखि २५ गतेसम्म जिल्लाभर रहेका सम्पूर्ण प्रहरी ईकालाहरुले आ–आफ्नो वडामा घरदैलो कार्यक्रम , सुझाव र सल्लाह आदान प्रदान, गस्ती तथा बस्ती भेटघाट कार्यक्रम, दुर्घटना तथा प्रकोप उद्धार व्यवस्थापन विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन हुनेछ । असार २५ देखि असार मसान्तसम्म मन्दिर र सार्वजनिक स्थानहरुको सरसफाई कार्यक्रम गरी टोल टोलमा प्रहरी अभियान कार्यक्रमको समापन गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए ।
हाल सम्म अधिराज्य भर १८५ भन्दा बढी सामुदायिक प्रहरी सेवा सम्बन्धी कार्यहरु भईरहेका छन् । प्रहरी प्रधान कार्यालय देखि जिल्ला प्रहरी कार्यालयसम्म ९६ वटा सामुदायिक प्रहरी सेवा केन्द्रहरु छन । सामुदायिक प्रहरी सेवालाई समय सापेक्ष सबलिकरण र सुदृढिकरण गर्ने उदेश्यले मुस्कान सहितको प्रहरी सेवा, महानगरीय स्वंयम सेवक प्रहरी सेवा , प्रहरी मेरो साथी, नागरिक सुनुवाई जस्ता कार्यक्रमहरु निरन्तर रुपमा संचालन हुदैँ आएको छ ।


तपाईको प्रतिक्रिया